Breaking

गठबन्धनमा गुम्यो विश्वास, राष्ट्रपतिको निर्वाचनअघि नै भत्किँदै, देउवा र माधवको दौडले दबाबमा ओली


काठमाडौँ — सरकार गठन भएको दुई महिना नपुग्दै सत्ता गठबन्धनभित्रको असन्तुष्टिले सत्ता फेरबदलकै अवस्था ल्याएको छ । सुदूरपश्चिममा एमालेको सत्ता बहिर्गमन र केन्द्रमा ओली–प्रचण्डको अविश्वास झनै संकट बनेको विश्लेषण भइरहेका छन् । संसद बैठक सकिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद भवनबाटै लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नै गाडीमा राखेर बालकोटसम्म सवारी गराए । सबैका अघि सबैले देख्नेगरि हातै समाएर संसद भवनबाट महन्थ ओलीको सवारीमा साझेदार बन्न चाहेपछि गाइँगुई चल्न नपाउँदै यता बालुवाटारमा देउवाको प्रवेश भयो ।

ओली–महन्थबीच झण्डै एकघण्टा बैठक चल्यो, उत्तिकै हाराहारीमा देउवा–प्रचण्डले मनमाज्ने कोशिस गरे । उनीहरुबीच राष्ट्रपतिमा सहमति खोज्दै सहकार्यमा जाने समझारी बन्यो । तर शुक्रबार यी दुबै दृश्यले ओली–प्रचण्डबीच अझ अविश्वास ल्याएको छ । राष्ट्रपतिमा माओवादीबाट धोका हुनसक्ने बुझेकै कारण ओलीले महन्थ जस्ता साना सहयात्री खोज्न थालेका छन्, प्रचण्ड सानाहरुलाई जोड्दै संसदको ठूलो शक्ति काँग्रेसलाई काँधमा बोक्न बल प्रयोग गरिरहेका छन् । तर यसले पुस १० मा भएको ओली–प्रचण्ड सहमति भत्किएर राष्ट्रपतिको निर्वाचनअघिनै गठबन्धन भत्किने संकेत गरेको छ ।

सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सुदूरपश्चिममा एमालेको सरकार ढलेर काँग्रेस सत्तामा उदाएको छ । काँग्रेसले बोकिदिएपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि सत्तावादी बनेको छ । जसलाई माधवले सुदूरपश्चिमबाट एमालेलाई धक्का दिएको भन्दै केन्द्रमा समेत मुक्का हान्ने दाबी गरेका छन् । र राष्ट्रपतिकै निर्वाचन यसका लागि उपयुक्त मौका भएको उनको बुझाई छ । फलतः उनीहरु प्रधानमन्त्री प्रचण्डलाई एमाले विरोधी कित्तामा हिडाएर गठबन्धन हडप्न लागिपरेका छन् । जसमा माओवादीले मौन समर्थन राखिरहेका छ ।

पाँचबर्षसम्मै आलोपालो सरकारसहित शक्ति बाँडफाँड गर्दै सहमतिमा पुगेर सात दलले सहयात्रा थालेका थिए । सरकारलाई सहयोग गर्न गठबन्धनको नेतृत्वकर्ता एमालेको अध्यक्षतामा उच्चस्तरिय राजनीतिक संयन्त्रसमेत बनेको छ । तर निष्प्रभावी बन्दै गएको संयन्त्रमा बिहिबार चार दलमात्र सहभागी बने । कति बैठकमै उपस्थिति हुन चाहेनन्, कतिलाई बोलाउँदै बोलाइएन् । कतिले गठबन्धनमै नरहेको भनि असन्तुष्टि छताछुल्ल पारेका छन् । अब सबैलाई मिलाएर आफु शक्तिमै रहनु एमाले लागि भने संकटग्रस्त बन्दै गएको छ।

आम निर्वाचन सकिएको तीन महिना र सरकार गठन भएको दुई महिना नपुग्दै नाटकिय शैलीको सरकार निर्माण, रास्वपाको बहिर्गमन र सुदूरपश्चिम सरकार फेरबदलको विषयले गठबन्धन असफल बन्दै देश दुस्चक्रमा फसेको संकेत गरेको छ । राष्ट्रपतिमा लक्ष्य गाडँको काँग्रेसको ढोक्सामा सुदूरपश्चिममै माछा परेको छ । तर राष्ट्रिय सहमतिको नाम दिएर सत्ता लम्ब्याउने तयारीमा रहेका प्रचण्डको तानातानले ओलीको बहिर्गमन र देउवाको सत्तारोहण सरु गर्दैछ छैन ? आम रुपमा शंका गराएका छ ।