Breaking

राष्ट्रपतिको सवारीले सुरक्षाकर्मी निलम्बनमा,राजा फालिए तर,फालिएन राजकीय शैली, हिँडडुलमापनि प्रतिबन्ध


काठमाडौँ — अतिविशिष्ट व्यक्तिको सवारीलाई लिएर बारम्बार प्रहरी र भीभीआईपीको आलोचना हुँदै आएको छ । आफ्नो जागिर नै जाने अवस्था आए पनि सुरक्षाकर्मीहरु भीभीआईपीको सवारीका लागि कुनै जोखिम मोल्दैनन् । आखिर किन आलोचना र विवादकाबीच भीआइपी सवारीको स्वरुप परिवर्तन गरिँदैन त ? राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री जस्ता अतिविशिष्ट व्यक्तिको सवारीका लागि सडक पुरै खाली गर्नु पर्ने कानूनी व्यवस्था छ । अतिविशिष्ट व्यक्तिको कार्केट अगाडी बढ्दै गर्दा अन्य सर्वसाधारणहरुको सवारीसाधन चलाउन त परै जाओस् हिडडुल गर्न पनि प्रतिबन्ध लाग्छ ।

तर, यस्तो व्यवस्थाको आम नागरिकले भने पटक पटक विरोध जनाउँदै आईरहेका छन् । यसको पछिल्लो उदाहरण शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीलाई लिन सकिन्छ । राष्ट्रपतिको सवारी समयमा हिडेको भन्दै राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थाेपेडिक तथा नेपाल चिकित्सक संघका आजीवन सदस्य डा.जनिथलाल सिंहमाथि प्रहरीले लाठी प्रहार गरेरपछि यसको सर्वत्र विरोध भइरहेको छ ।

जसको विरोधमा अस्पतालका चिकित्सिकहरु प्रदर्शनमा उत्रिन बाध्य भए भने चिकित्सक संघले घटनामा संलग्न दोषी सुरक्षाकर्मीलाई अविलम्ब कारवाही गर्न विज्ञप्ती नै जारी गर्याे । त्यसको २४ घण्टा बित्न नपाउँदै वरिष्ठ हवलदार शम्भुजंग गुरुङ निलम्बमा नै परे । यस्ता घटनामा राष्ट्रपति लगायतका भीभीआईपीहरुको प्रत्यक्ष भूमिका नभए पनि उनीहरु निकै आलोचित हुँदै आएका छन् । राष्ट्रपतिकै सवालमा पनि यसभन्दा अघि धेरै पटक सुरक्षा निकायलाई कार्केटको आवश्यक नरहेको र बाटो पनि खाली गराउन नपर्ने भने पनि सुरक्षा थ्रेट र त्यसको संवेदनशीलतालाई हेरेर कार्गेट गर्न बाध्य हुनु पर्ने तर्क सुरक्षा निकायको छ ।

सम्मान र सुरक्षाका लागि कार्केट अति नै आवश्यक रहेको उनीहरु बताउछन् । भीभीआईपीको सवारीलाई लिएर जनतामा यति धेरै आक्रोश पैदा भएको कि उनीहरु कानुनको उल्लंघननै गर्न बाध्य बनेका छन् । जसले गर्दा नागरिकमा भीभीआईपीप्रति नकारात्मकताको भाव विकास भइरहेको छ । यता प्रहरी निकायहरु भने जतिसुकै विवादमा परे पनि सुरक्षा थ्रेटलाई लिएर कुनै चुनौती वा जोखिम लिन चाहँदैनन् ।

अतिविशिष्ट व्यक्तिका सवारीले ट्राफिक व्यवस्थापनमा कठिनाई उत्पन्न त गराउँछ नै दमकल, बिरामी बोकेका एम्बुलेन्स जस्ता आकस्मिक गाडी समयमा नै गन्तव्यमा पुग्न असमर्थ हुन्छन् । अझ सवारीको समयमा मात्रै होइन सवारी भईसकेपछि पनि ट्राफिक व्यवस्थापनलाई सामान्य अवस्थामा ल्याउन हम्मे हम्मे नै पर्ने गरेको छ । परिणामत भीभीआईपीहरु सामाजिक सञ्जालदेखि बौद्धिक वर्गहरुको आलोचनाको सिकार हुने गर्छन् ।

अन्तरर्राष्ट्रिय मापदण्डसँगै सुरक्षा थ्रेट र सम्मानका हिसाबले सुरक्षाकर्मीको कार्यलाई सामान्य नै लिए पनि कोही हिडेकै भरमा कसैलाई अमानवीय व्यवहार गरि हातपात गर्नु लोकतन्त्रमा अशोभनीय कार्य पक्कै होइन । देशबाट राजा त फालिए तर, राष्ट्रपतिलाई पनि राजाकै दर्जामा उभ्याउँदा गणतन्त्रको उपलव्धि छायाँमा पर्ने गरेको छ ।