Breaking

चिकित्सक कुटपिटको विरोधमा देशभरका अस्पतालमा सबै सेवा बन्द गरिँदै


काठमाडौँ — राष्ट्रपतिको सवारीका बेला भएको चिकित्सकमाथि कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको छ । संघले भोलि एक दिनका लागि सरकारी तथा तथा निजी अस्पतालहरूमा आकस्मिकबाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष डा। लोचन कार्कीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्नुपर्ने आफूहरूको माग रहेको बताए । यस्तै, विशिष्ट व्यक्तिको सवारीका नाममा सर्वसाधारणले पाइरहेको दुःख अन्त्य गर्नुपर्ने संघको माग रहेको पनि उनको भनाइ छ ।

यसैबीच, राष्ट्रपति भण्डारीको सवारीका बेला चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार निलम्बनमा परेका छन् । ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा। जनिथलाल सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा परेका हुन् । घटनाको अनुसन्धान गर्नका लागि गुरुङलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौं प्रहरी वृत्त जनसेवामा कार्यरत गुरुङलाई काठमाडौं जिल्ला प्रहरी परिसरले निलम्बन गरेको हो ।

चिकित्सकलाई कुटपिट गर्ने प्रहरी हवल्दार निलम्बित
टाउको र हातमा चोट लागेका डाक्टर सिंहलाई ट्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको छ । प्रहरीले ट्रमाका अरू चिकित्सकहरूलाई पनि कुटपिट गरेको थियो । डा. सिंहमाथि कुटपिट भएको विरोधमा उत्रिँदा मेडिकल अधिकृत डाक्टर जाफिर आलमलगायतमाथि पनि हातपात भएको छ ।

चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो । उनीहरूले स्वास्थ्यकर्मीमाथि हिंसा बन्द गर्नुपर्नेलगायतका नारासहितका प्लेकार्ड बोकेर घटनाको विरोध गरेका थिए । यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा नहुने गरी प्रोटोकल बदल्न प्रस्ताव गरेका छन् । विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायतका विधि तथा प्रोटोकल बदल्नुपर्ने र निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै संशोधित कार्यविधि लागू हुने गरी अहिलेदेखि तयारी गर्नुपर्ने उनको सुझाव छ ।