देश

राष्ट्रपतिको सवारीमा नागरिकले दुःख पाएको भन्दै चौतर्फी आलोचना


काठमाडौँ— राष्ट्रपतिको सवारीको बेला सडक खाली गरेर नागरिकलाई सास्ती दिएको भन्दै चौतर्फी आलोचना भएको छ ।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद् भवन जाँदा र फर्किंदा शीतल निवासदेखि बानेश्वरसम्मको सडक खाली गराइएको थियो ।

सडक खाली गराइँदा विद्यार्थी, बिरामी, कर्मचारीलगायत काम विशेषले हिँड्नुपर्ने नागरिकले सास्ती खेपेको र वीर अस्पताल अगाडि डाक्टरलाई प्रहरीले कुटेको घटना सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

राष्ट्रपतिको सवारी हुँदा नागरिकले सास्ती खेप्नुपर्ने प्रवृत्ति नदोहोर्याउन सामाजिक सञ्जालमार्फत् धेरैले माग गरेका छन् । यसअघि पनि राष्ट्रपतिको सवारीमा सडक खाली गराइँदा नागरिकले विरोध गर्दै आएका थिए । नागरिकलाई सास्ती नहुने गरी सवारी चलाउन पटकपटक माग हुँदै आए पनि सरकार र सुरक्षा निकायले बेवास्ता गर्दै आएका छन् ।

विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधिमा विशिष्ट सवारीका बेला सडकमा समन्वय गरेर सुरक्षा व्यवस्थापन मिलाइने भनिए पनि सडक खाली गराएर सवारी गर्ने विषय उल्लेख छैन ।

राष्ट्रपतिलगायत अति विशिष्टको सवारीबाट सडकमा अनावश्यक चाप हुन नदिन सडकको एउटा लेन मात्रै खाली गराउने, त्यो पनि सवारी सकिनेबित्तिकै पूरै सडक खुलाउने बहस हुँदै आए पनि यसको कार्यान्वयन भएको छैन ।