Breaking

प्रचण्डको माओवादीप्रति घृणा, रविले बगलेपछि प्रचण्डलाई नाम फेर्ने जुक्ति, माओवादीप्रति किन छैन मोह ?


काठमाडौँ — २०६४ को संविधानसभा चुनावमा पहिलो शक्ति भएर उदाएको माओवादी त्यसयता भने निरन्तर ओरालो यात्रामा छ । पहिलो संविधानसभामा ३१ प्रतिशत मत पाएको माओवादी यस पटकको प्रतिनिधिसभामा मात्र ११ प्रतिशतमा खुम्चिएको छ । संकट उन्मुख माओवादीको भविष्यलाई लिएर चिन्तित बनेका प्रचण्डले नाम, चुनाव चिन्ह र संरचनामा आमुल फेरबदल गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ पटक आफ्नै नाम फेरे । कक्षा १० सम्म अध्ययन गर्दा उनको नाम छबिलाल दाहाल थियो । नाममा चित्त बुझेन, त्यसलाई फेर्दै पुष्पकमल दाहाल बनाए ।

तर पुष्पकमल दाहालले मात्रै पनि उनको चित्तको पित्त फुटेन । त्यसपछि २०३८ देखि ६३ सम्मको अवधिमा उनले कल्याण, विश्वास र निर्माण जस्ता नामलाई प्रयोगमा ल्याए । तर कुनै पनि नामबाट सन्तुष्ट नभएका उनले अन्तिममा प्रचण्ड नाम राखे । त्यसपछि नामाकरण भयो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । अहिले उनी पुष्पकमलभन्दा प्रचण्डप्रति गौरव गर्छन् । तर प्रचण्डको नाम फेराई, ‘गाउँको हरि शहर पसेँपछि ह्यारी’ भएजस्तै भयो । गाउँबाटै उदाएका प्रचण्डले फेर्नुपर्ने शैली थियो, चरित्र थियो ।

तर नाममात्रै फेरिरहेका प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री बन्दा दौरा सुरुवाल फेरे । अब पार्टीकै नाम फेर्ने तयारी गरेका छन् । जसले छबिलालबाट प्रचण्ड बनायो, जसले प्रचण्डको पनि पहिचान दियो । जंगल हुँदै शहरसम्म चिनाएको माओवादीप्रति नै अहिले प्रचण्डको घृणा किन ? हिजो राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने सिद्धान्त जन्माएको पनि माओवादीले हो । राज्यसत्ता बुलेट होइन, ब्यालेटबाट प्राप्त हुन्छ भन्ने सिकाएको पनि माओवादीले हो । तर निष्कर्षमा प्रचण्ड माओवादीकै नामप्रति घृणा गर्न थालेका छन् । प्रचण्डमात्रै होइन, माओवादीप्रति आम रुपमा पनि एकप्रकारको घृणा छ ।

जसले उही आतंककारीको झल्को दिन्छ । उही जंगली पारा सम्झाउँछ । बन्दुकको नालले घोँची घोँची त्यसमाथि बम बर्साएको सम्झाउँछ । खाँदै गरेको छाक खोसेर माओवादीले भोकै बनाएको सम्झिदा अहिले पनि घृणा गर्नेहरु घटेका छैनन् । केही समयअघिमात्रै माओवादीभित्रकै केही बुद्धिजीवीले गरेको अध्ययन अनुसार यो शब्दप्रति धेरैको अनिच्छा थियो । माओवादी भन्न धेरैले आनाकानी गरेको थिए । जनयुद्धमै साइनो नभएकाहरु पनि पार्टीको नेतृत्वतहमा छन् । उसमा १७ हजारको भारी बोक्न पटक्कै रुचि छैन । अहिले प्रचण्डलाई लाग्यो, अब गिर्दै गएको साख माओवादी भएरै रोक्न सकिँदैन । प्रचण्ड ब्राण्ड बिक्छ, तर माओवादी बिक्दैन भन्ने लागेपछि उनी नाम फेर्न चाहन्छन् ।

प्रचण्डले नेतृत्व फेर्न सकेनन् । ३३ बर्षदेखि उनी आफै नेतृत्वमा छन् । एउटा उत्तराधिकारी जन्माउन पनि प्रचण्डलाई चार दशकभन्दा कति समय लाग्छ ? नयाँ नयाँ पार्टी जन्मिएर ४÷५ महिनामै टक्कर दिएको विषयलाई प्रचण्डले माओवादीप्रतिको वितृष्णाका रुपमा बुझेका छन् । अवस्था यही रहे अर्काे चुनावसम्म माओवादी माधव नेपालकै पार्टीको हैसियतमा पुग्नेछ । रवि–राजेन्द्रहरु माओवादीलाई बगल्दै सत्ताको निर्णायक बन्नेछन् ।

त्यसैले प्रचण्ड नाम फेर्न चाहन्छन् । चुनाव चिन्ह फेर्न चाहन्छन् । तर आफ्नै शैली फेर्न चाहँदैनन् । कहाँ कमजारी भयो, कसरी माओवादी कमजोर भयो भन्ने तर्फ समीक्षा छैन । मात्र सत्ताप्रतिमा माओवाद प्रयोग भएपछि प्रचण्डप्रति विश्वास गुमेको हेक्का छैन । तर कमजोर हुनुको दोष माओवादी शब्दप्रति खन्याएर उनी उम्किन खोजिरहेका छन् ।

गणतन्त्र, संघीयता र समावेशीताको जन्मदाता नै माओवादी हो भन्ने सकारात्मक सोच प्रचण्डमा किन आउँदैन ? प्रजातन्त्रभन्दा काँग्रेस सम्झिने नेपाली समाजले गणतन्त्रको नाम लिँदा माओवादी किन सम्झिदैन ? यही उपलब्धीमाथि टेकेर माओवादीलाई नम्वर वान पार्टी बनाउन प्रचण्डलाई कसले रोक्यो ? माओवादी नाम, माओ विचारधारा र हसिया हथौडा चुनाव चिन्हले शहरीया जनमतलाई किन आकर्षण गर्न सकेन ? उनी आफु कमजोर हुनुको दोषी माओवादीप्रति मात्रै किन खन्याइरहेका छन् ? के माओवादीलाई स्थापित गर्नु नसक्नु प्रचण्डको दोष होइन ? नाम फेर्नुअघि प्रचण्डले यी प्रश्नको जवाफ दिनुपर्नेछ ।