विदेश

भग्नावशेषमुनि रहेकाको उद्धारमा कठिनाइ, खाना, लत्ताकपडा र आश्रयको खाँचो


काठमाडौँ —टर्की र सिरियामा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि हजारौंको ज्यान गएको छ । अकल्पनीय भयावह अवस्था सिर्जना भएको छ ।लाखौं परिवार प्रभावित भएका छन् । ७.८ क्याग्निच्युडको विनाशकारी भूकम्पसँगै टर्की र सिरियामा लाखौं मानिस प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण हजारौँ भूकम्प प्रभावितको जीवन जोखिममा छ। हिमपातसमेत हुँदा अत्याधिक चिसोमा उनीहरु रात रात बिताउन बाध्य भएका छन् ।

उनीहरू प्रकोपपछि आवास, पिउने पानी र खानाबाट वञ्चित भएका छन्।उनीहरूसँग कम्बलसमेत छैन । अधिकारीहरुले अर्को प्रकोपको चेतावनी दिइरहेका छन् । भग्नावशेषमा पुरिएकाको खोजी र उद्धार कार्य भइरहेको छ । भग्नावशेषमा पुरिएका आफ्नो कान्छो भाइलाई बचाउन खोजिरहेकी सात वर्षीया बालिकाको तस्विर र भिडियो निकै भयानक छ । धेरै मानिसहरु १७ घण्टाभन्दा बढी समयसम्म भग्नावशेषमा रहन बाध्य थिए । झन्डै ३० देशबाट खोज टोली टर्की र सिरिया पुगेका छन् ।

टर्कीले देशको दक्षिणी प्रान्तमा भूकम्प गएपछि सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ भने राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्प प्रभावित १० प्रान्तमा तीन महिनाको आपतकाल घोषणा गरेका छन् । उनले अवस्थालाई ऐतिहासिक प्रकोप र सन् १९३९ पछि टर्कीमा आएको सबैभन्दा खराब भूकम्प भनेका छन् ।