Breaking

विदेश पलायन रोकौंः राष्ट्रपति भण्डारी


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै श्रमबजार खोलेर प्रतिभा विदेश पलायलन रोक्न आग्रह गरेकी छिन् । शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वदेशमै रोजगारीको व्यवस्था गर्न आग्रह गरेकी छिन् । उनले सरकारले पर्यटकीय क्षेत्रको विकास, पूर्वाधार निर्माण, सेवाको उपलब्धताका लागि सहजीकरण, सेवा र गुणस्तरको अनुगमन, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बजारीकरण र सहज पहुँचको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।

उनले नेपालको मौलिक सांस्कृतिक सम्पदाको व्यापक प्रचारप्रसार गरी पुनर्जागरणका लागि नेपाल सरकारको ध्यान जानेमा आफूले विश्वास लिएको बताइन् । प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई देशभित्रै रोजगारीको व्यवस्था मिलाउन सार्वजनिक र निजी क्षेत्रले सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिइन् । दैनिक रुपमा भइरहेको प्रतिभा पलायन रोक्न आर्थिक सामाजिक र पूर्वाधार विकासमा निगरानी बढाउनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्– ‘श्रमको संस्कृतिको सम्मान गर्न श्रमको उचित प्रतिफल उपलब्ध गराउन सरोकारवाला निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्दछ । देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउनुपर्दछ । आजका युवा नयाँ कुरा गर्न र केही कुरा सिक्न चाहना गर्ने हुनाले परम्परागत श्रमबजारले मात्र श्रमको क्षेत्रमा आउने नयाँ श्रमिकको अपेक्षा पूरा गर्न सक्दैन । तसर्थ बजारको माग अनुरुप जनशक्ति उत्पादन गर्न सक्षम हुनेगरी शैक्षिक प्रणालीमा सुधार गर्ने कार्यलाई एकीकृत ढंगबाट अगाडि बढाउनुपर्दछ ।