देश

गुलाब आयातमा प्रतिबन्ध


काठमाडौँ — भ्यालेन्टाइन डे फेब्रुअरी १४ नजिकिँदै गर्दा सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक सूचना निकालेर गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले फूलसँगै रोगका किरा वा जीवाणु आउने सम्भावना रहेकाले वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको बताएका छन् ।

उनका अनुसार अर्को व्यवस्था नभएसम्म आयात अनुमति पत्र जारी नगर्न सबै कार्यालयलाई पत्रसमेत पठाएको बताए । काँकडभिट्टा, भण्टावारी, विराटनगर, मलङ्गवा, जलेश्वर, वीरगञ्ज, तातोपानी, एअरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, गड्डाचौकी, लोमान्थाङ र बैतडीमा कार्यालयलाई गुलाबको आयात अनुमति नदिन केन्द्रले पत्र पठाएको हो ।