Breaking

जेलबाटै रेशमले ओलीको सत्ता ढाले, प्रचण्डकै बलमा धोका, संकटमा फसाउँदै प्रचण्ड, देउवाको सत्तारोहण सुरु


माओवादीले भन्ने महान जनयुद्धमा छात्ति थापेर गोली खाएकाहरुको छर्रा निस्किएको छैन । तर माओवादीलाई आफ्नै नाम बोझ भयो । बुढेशकालको लाठी बन्नुपर्ने सन्तान जनयुद्धमा घाइते भएको छ । हेरचाह गर्दै जिन्दगी बिताएका बाउ आमा थाकेका छैनन् । तर केही बर्ष अघि बाबुराम थाके । अहिले प्रचण्ड थाक्दैछन् । समाजमा समानता ल्याउन युद्ध लडेकाहरु खाडीमा भविष्य खोज्दै लडिरहेका छन् । यतिबेला प्रचण्डलाई अब प्रचण्ड ब्राण्ड बिक्छ तर माओवादी बिक्दैन भन्ने लाग्यो । उनी माओवादीको नाम र चुनाव चिन्ह फेर्दैछन् ।

पेरिसडाँडाबाट नाम फेर्ने अभियानसहित निस्किएका प्रचण्ड सिंहदरबार पुगेर सारथी फेर्ने मिशनमा छन् । ओली–प्रचण्डको १६ औं भेट सुखद् नबन्दा सुदूरपश्चिममा ओली सरकार ढल्यो । रेशम चौधरीले आफुसँगै डिल्लीबजार कारागारमा सांसद बन्धक बनाएपछि सत्ताविहिन भएका देउवा सत्तासिन भए । अब पश्चिमबाट सत्तामा उदाएका देउवा गठबन्धन फिर्ता गराएर राष्ट्रपति हत्याउने दाउमा छन् । सडकबाट प्रचण्डलाई प्रधानमन्त्री बनाइदिएको उद्घोष गर्ने ओली अब सडकमै पुग्दैछन् ।

प्रचण्डको अफ्ठ्यारो बुझेर देउवालाई अफ्ठ्यारोमा पारेका ओली अब के गर्लान ? फेरि सत्ताविहिन बन्ने या प्रचण्डले चाहेकै व्यक्ति राष्ट्रपति बनाएर प्रचण्डको इशारामा चल्ने ? अबको फागुन २५ मा शीतलनिवासले नेतृत्वमात्रै होइन, ओली–प्रचण्ड र देउवाले निकास पाउँदैछन् । राष्ट्रिय सहमतिको रटान रट्दै के प्रचण्डले गठबन्धन फुटाए ? या ओलीलाई प्रचण्डले अर्काे धोका दिए ? देउवालाई धोका दिएर प्रचण्ड रोजेका ओलीले के अब देउवालाई प्रधानमन्त्री बनाउन तयार होलान् ? अथवा सातौंपटक प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवा प्रधानमन्त्री बन्नकै लागि प्रचण्डलाई धोका देलान् ? अथवा रविलाई हटाएर ओलीसँग दूरी बढाएका प्रचण्ड लिङ्देनलाई निकालेर देउवासँग सहयात्रा गर्दैछन् ? अबको केही समय यीनै प्रश्नहरुमा राष्ट्रिय राजनीति घुम्ने छ । र आजको एबीसी चेक यीनै प्रश्नहरुमाथि केन्द्रीत बनेको छ ।

सुदूरपश्चिमबाट सुरु भएको ओलीको सत्ता बहिर्गमन र देउवाको सत्तारोहणले राष्ट्रपतिको विषयसमेत जटिल बनेको छ । गठबन्धन धरमराएको छ । काँग्रेसको चित्तमा पित्त फुटेको छ । सरकार बनेको एकमहिनाकै अवधिमा गठबन्धनभित्रकै दलबाट विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । चार दलीय गठबन्धनको समर्थनमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावल ३० दिनपछि पदमुक्त भएका हुन् । मुख्यमन्त्री रावलले प्रदेश सभामा सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गरेका थिए । तर उनको प्रस्ताव प्रक्रियामा पनि नगएर वा मतदानमा समेत नगएर सुरुमै ध्वनी मतबाट अस्वीकृत भएको छ ।