Breaking

ओली–प्रचण्डबीच टक्करको टकराव, गठबन्धन फुटको डिलमा, सहमति तोड्दै माओवादी, सत्ता काँग्रेसको कित्तामा


काठमाडौँ — गठबन्धनमा बढ्दै गएको असन्तुष्टिले अविश्वास चुलिएर संकट परेको छ । झन राष्ट्रपतिका विषयमा एमाले र माओवादीबीच टक्करकै टकराव पर्न थालेपछि गठबन्धन भत्किने आधारहरु देखिन थालेका हुन् । सरकारको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएपछि गठबन्धनको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्न थाले । सरकार सञ्चालनका लागि बनेको उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजक ओली बनेपछि एमाले नेतृत्वको प्रचण्ड सरकार भन्न थालियो ।जसमा प्रधानमन्त्री प्रचण्डको मञ्जुरीनामा पटक्कै थिएन ।

तैपनि ओलीकै बलमा प्रधानमन्त्री भएका प्रचण्डले स्वीकार गर्नै पर्ने बाध्यकारी अवस्था थियो । तर पुस १० मा बनेको सरकारलाई पुस २६ मा जब नेपाली काँग्रेसले समेत विश्वासको मत दियो, तब प्रचण्डको शक्ति र आशक्ति दुबै बढेको छ । अब सरकार बन्दा गरेको सहमति तोड्दै प्रचण्ड राष्ट्रपतिमा एमालेलाई ब्याक गराउने पक्षमा छन् । यसका लागि उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएका छन् ।

जसबाट प्रचण्डप्रति एमाले अध्यक्ष ओलीको अविश्वासले सीमा पार गरेको छ ।मंगलबार बिहान पनि बालुवाटारमा यसैबारे छलफल गरेका दुवै नेताले आ–आफ्नै अडानलाई चट्टानी बनाएका थिए ।ओलीले राष्ट्रपतिमा आयादायाँ हुँदैन भनेपछि प्रचण्डले पनि एमालेका नाममा मात्रै सहमति गर्न सकिँदै भनेका छन् ।यसले गठबन्धन भत्किने आधार बलियो बन्दै गएको गठबन्धनकै नेताहरुको आँकलन छ ।

एमालेलाई राष्ट्रपति नदिने भए, सरकार गठनका बेला किन सहमति गरेको ?भन्ने प्रश्नमा माओवादीका नेताहरु परिस्थिति परिवर्तन भएको बताउँछन् । काँग्रेसले समेत विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको आवश्यकता देखिएको र एमालेलाई राष्ट्रपति दिने सहमति नै नभएको दाबी समेत गर्न थालेका छन् । तर राष्ट्रपति गुमाउने अवस्था आए गठबन्धन पनि बाँकी नरहने स्पष्टोक्ति एमालेहरुको छ ।यसले गठबन्धन हुँदै निकट भविष्यका लागि आँकिएको वाम एकताको आधारसमेत भत्किँदैछ ।

तर गठबन्धनभित्र राष्ट्रपतिकै विषयले टकराव चुलिएपछि मौन तर मनमुटाव खोजिरहेको काँग्रेसले खतरामाथि खेल्न थालेको छ ।रास्वपा बाहिरिएपछि झनै गठबन्धन विचलित बनेको बेला प्रचण्डसँग मिलेर राष्ट्रपतिमा पासा पल्टाउने दाउ काँग्रेस हेरिरहेको छ ।

अब गठबन्धन बचाउनका लागि कि ओली कि प्रचण्ड पछि हट्नुपर्ने हुनसक्छ ।किनकि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री दिन नमानेकै कारण सरकारमा सहभागी मन्त्रीसमेत फिर्ता बोलाएर राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएको छ ।सरकारलाई दिएको समर्थन पनि राष्ट्रपतिको निर्वाचनसम्म मात्रै कायम रहने उसको दाबी छ । तर राष्ट्रपतिमा एमाले वा माओवादी पछि नहटे गठबन्धन भत्किनबाट कसैले रोक्न सक्ने छैन ।यसका लागि प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको कुरा त्यागेर एमालेकै उम्मेदवारलाई राष्ट्रपतिमा भोट हाल्न तयार हुनुपर्नेछ । नत्र विगतको सहमति विर्सेर ओली राष्ट्रिय सहमतिकै लाइनमा आएर सबै दलले चाहने उम्मेदवारलाई राष्ट्रपति स्वीकार्न राजी हुनुपर्नेछ ।

तर दुबै आफ्नो अडान त्याग्न तयार नभएपछि अविश्वास झन अराजक बन्दै गएको छ । मंगलबारको बैठकमा पनि प्रचण्डले कम्युनिष्ट एकता चाहेको भए राष्ट्रिय सहमतिमा आउनुस् भन्दै ओलीलाई आग्रह गरेका थिए ।बरु कम्युनिष्टकै नाममा सहमति गरौं भन्दा ओली अडानमा अडिकै रहेका थिए । किनकि प्रचण्डले आफ्नो मुद्धामा जित्न ओली हार्नु पर्छ । जसका लागि उनी तयार छैनन। फलतः दाउ खोजेर बसेको देउवाको कित्तामा जुनसुकै बेला सत्ता जानसक्ने सम्भावना बढेको छ ।