Breaking

खेलाडी भविष्य खोज्न खाँडीमा, गृहमा लुछाचुँडी खेलकुदमा खाली, समाप्तिको बाटोमा खेल क्षेत्र


काठमाडौँ — प्रचण्ड नेतृत्वको नयाँ सरकार गठन भएको पनि महिना दिन कटिसकेको छ । शीर्ष पार्टी र तिनका नेताहरु गृहमन्त्रीको लुछाचुडीमा व्यस्त हुँदै गर्दा देशले कहिले खेलकुद मन्त्री पाउने हो अनिश्चित बनेको छ । देशमा अहिले गृहमन्त्री कसले सम्हाल्ने भन्ने विषयमा बबण्डर मच्चिएको छ । प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली देखि वैकल्पिक शक्ति रास्वपाका सभापति रवि लामिछाने सबैको रुवाबासी र हार–गुहार चलिरहेको छ । यहँसम्म कि यसै मन्त्रालयका लागि गठबन्धनमा दरार आउने संकेत पनि यिनै नेताहरुले गरिरहेका छन् ।

तर, अन्य मन्त्रालय झै एउटै हैसियत पाएको खेलकुद मन्त्रालयको कुर्सी भने नेतृत्वको पखाईमा बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएको महिना दिन कटिसक्यो तर, पनि अझै खेकुदलले आफ्नो नेतृत्व लिने मन्त्री भने पाउन सकेको छैन । नेतृत्व पाउन भन्दा पनि वास्तवमा यो मन्त्रालय माग्न कुनै पार्टीका नेताहरुको प्रस्ताव नै आउँदैन । आफ्नो स्वार्थ बाँझिने मन्त्रालय लिन पल्केका नेताहरु यो मन्त्रालयमा कुनै स्वार्थ नहुने हुँदा चासै दिदैनन् । मन्त्रालय बाँडफाँड गर्ने बेलैमा राप्रपाका विक्रम पाण्डेले अस्वीकार गरेको यो मन्त्रालय गठबन्धनमा सामेल हुने पार्टीका लागि छुट्याएर राखिएको बुझिन्छ ।

खेलकुद क्षेत्र नै भएर होला सायद, यो मन्त्रालयलाई डेब्यू गर्ने मन्त्रालयका रुपमा चरितार्थ गरिदैआएको छ । एउटा उचाईमा पुगिसकेको क्रिकेट ओरालो लागिरहेको छ । अभिभावक संस्थाले गरेकै लिग पनि स्पट फिक्सिङ हुने गर्छ । खेलाडीहरु रोजी रोटी नपाएर विदेश पलायन हुनु परेको छ । सरकारले नै घोषणा गरेको पुरस्कार राशी लिन वर्षाै धाउँदा पनि पाउन मुश्किल छ । यिनले लिन नमानेका मन्त्रालयभित्र यस्ता समस्याले दिन प्रतिदिन खेल क्षेत्र रुग्ण हुँदै गएको छ । यस्तो लथालिंगको अवस्थामा पुग्दा पनि देश र जनताको सेवा गर्न राजनीतिमा छिरेर शपथ खाएकाहरुको प्राथमिकतामा पर्न सकेको छैन ।

जुनसुकै क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयमा नेतृत्व हुन आवश्यक छ । तर, सबै जना आफ्नो स्वार्थमै केन्द्रीत हुँदा खेलकुद जस्तो कम बजेट पर्ने मन्त्रालयमा बस्न नै इच्छा राख्दैनन् । खेलकुद राष्ट्रिय राजनीतिको विषय नबन्दा खेलाडी र योसँग सम्बन्धित सबै निकायहरु लाचार बनेर बसेका छन् । गठबन्धनकै ठूलो दल एमाले अध्यक्ष ओलीले १० दिनमा नै मन्त्री पाउने बताए पनि उनले तोकेको भाकाबाट पनि १५ दिन बितिसक्दा अझै मन्त्री पाउन सकेको छैन । यति सब हुँदाहुँदै पनि देशले कहिले खेलकुद मन्त्री पाउने हो अनिश्चित छ ।