काठमाडौँ — नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले झगडिया झिकाउने आदेश दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।
अब १५ दिनभित्र पल शाहलाई उच्च अदालत कास्कीमा उपस्थित गराउनुपर्नेछ । एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा अभिनेता शाहमाथि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासीमा मुद्दा परेको थियो । जिल्ला अदालत नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिएर बाल यौन दूराचारको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । तर जिल्ला अदालत तनहुँले भने पल शाहलाई सफाइ दिएको थियो ।
प्रतिक्रिया