Breaking

देउवाको अन्धभक्त प्रचण्ड, संकटमा प्रधानमन्त्री पद, रविलाई टाट पल्टाउँदा एमालेको चेतावनी, सत्तावादीसँगै पंगा?


काठमाडौँ—३२ सिटसहित तेस्रो स्थानमा रहेपनि प्रधानमन्त्री बन्ने सौभाग्य पाएका पुष्पकमल दाहाल प्रचण्ड बलशाली छन् । तर प्रचण्डको सत्तायात्रा पनि सहज तरिकाले अघि बढेको छैन । सत्ता गठबन्धनभित्रकै खटपट र काँग्रेसको राष्ट्रपति सत्ता हत्याउने दाउले उनी संकटमै छन् । जसको निर्धारण अब राष्ट्रपतिको निर्वाचनले गर्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सिधा कुरा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनिदिए – तपाईँलाई केही पनि दिन सक्दिँन । बालुवाटारमा प्रचण्डका सिधाकुरा सुनेपछि सिधैं बालकोट हानिएका रविले एमाले अध्यक्ष ओलीलाई यही सन्देश सुनाए । तर राष्ट्रपति गुम्ने संत्रासमा रहेका ओलीले रविकै लागि प्रचण्डसँग जोरी खोज्दै काँध थाप्ने सम्भावना लगभग समाप्त भएको थियो ।

फलतः बालुवाटार र बालकोटबाट परिणाम शून्य आएपछि ‘सिधा कुरा नगरेको धेरै भयो भन्दै’ फर्किएका रविले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता र सरकारबाट बाहिरिने प्रयास गरे । तर प्रचण्डलाई यसले फरक परेको छैन । गृह हुँदै सरकारबाटै रविलाई टाट पल्टाउन खोजेका उनी राष्ट्रपतिमा पनि एमालेलाई यसैगरि पाता कास्ने तयारीमा छन् । तर सत्तावादीसँगै पंगा लिएर सरकार चलाउने हिम्मत प्रचण्डलाई कहाँबाट मिलेको छ ? प्रतिउत्तर खासै जटिल छैन, काँग्रेस र एमालेसँग एकसाथ ‘प्रेमसम्बन्ध र ट्याजिटी’ रहेका उनलाई एउटा गए अर्काे आइहाल्ने सुविधाले हिम्मत दिइरहेको छ ।

एमालेको समर्थनसहित प्रधानमन्त्री बनेका उनलाई प्रमुख विपक्षीको हैसियतमा रहेको नेपाली काँग्रेसले समेत विश्वासको मत दिएको थियो । संसदका मात्र दुई सांसदबाहेक प्रचण्ड बहुमतसहित सरकारको नेतृत्व गरिरहेको उनी फलतः रास्वपाको १९ सिट वा एमालेको ७८ सिट नभएपनि फरक नपर्ने अवस्थामा आफुलाई शक्ति सम्पन्न सावित गर्न खोजिरहेका छन् । झन विश्वासको मतमा ढोक्सा थापेको काँग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादीकै उम्मेदवारलाई समर्थन दिएर राष्ट्रपतिमा जाल विछ्याएको छ । यसले काँग्रेसकै उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन दिनुपर्ने दबाब वा नैतिक संकट प्रचण्डमाथि एकसाथ परेको छ । तर त्यसो भए प्रचण्ड आफैँ खाल्डोमा पर्ने दाबी एमालेको छ ।

तर प्रश्न छ, आफैले लत्याएर आएको काँग्रेसले विश्वासको मत दिएकै आधारमा प्रचण्ड यतिधेरै अन्धभक्त किन बनिरहेका छन् ? प्रत्तिउत्तर सहज छैन । किनकि प्रचण्डबाटै धोका खाएर सत्ता गुमाएको काँग्रेसको लक्ष्य पदप्राप्तिभन्दा अर्काे देखिँदैन । प्रचण्डसँगै खेलेर पहिला राष्ट्रपति त्यसपछि सरकारसम्म हत्याउने देउवा दाउले प्रचण्ड ट्रयापमा पर्न सक्छन् । त्यसपछि पाएको सत्ता पनि गुमाउने अवस्था बन्न सक्छ । किनकि संविधानको धारा ७६ दुई अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा यो सरकार बनेको हो । सरकारलाई समर्थन दिएको कुनैपनि दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ चार अनुसार सबैभन्दा ठूलो दलको हैसियतले काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्न सक्छन् । त्यसका लागि कुनै दलले समर्थन झिकेर विश्वासको मत लिनु परे काँग्रेसले फेरि प्रचण्डलाई समर्थन नदिन सक्छ । प्रचण्डका अघि राष्ट्रपतिको निर्वाचनसम्म अर्काे खड्गो आउने सम्भावना पनि छ । माओवादीले समर्थन नदिएकै कारण एमालेले राष्ट्रपति गुमाउने अवस्था आए ओलीले देउवालाई प्रधानमन्त्री दिएर समर्थन गरि दिनसक्छ । त्यसो हुँदा अहिले झुक्किएर सत्ताका लागि आएको अवसरमा एमालेले पाएको सभामुख, केन्द्रका मन्त्री र प्रदेशको नेतृत्व बोनसझैँ हुनेछ ।

कथमकदाचित यसो हुँदा प्रचण्ड फेरि अस्थिरताको नाइके करार हुनेछन् । ३२ सिटमा प्रधानमन्त्री बन्ने सौभाग्य पाएका उनी किनाराकृत बन्नेछन् । तर एमालेकै उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन दिएपनि प्रचण्ड गठबन्धनभित्र ओलीको दबाबमै रहनेछन् । किनकि रास्वपा रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देनलाई च्यापेर ओली गठबन्धनभित्रै प्रचण्डमाथि घेराबन्दी गरेका छन् । सरकार गठनको १५ दिनसम्म ओलीको पेलान र तजबिजमा चलेका उनी काँग्रेसले समर्थन दिएपछि बलशाली बनेका हुन् । उनी यसैगरि शक्तिमा खेल्दै अझै सरकारको आयु लम्ब्याउन चाहन्छन् । तर अब त्यसको छिनोफानो पनि राष्ट्रपतिकै निर्वाचनपछि हुने भएकाले प्रचण्डको सत्तायात्रा पनि राष्ट्रपतिकै भविष्यसँग जोडिएको छ ।