Breaking

अमेरिका र चीनबीचको सम्बन्ध चिसिँदै, सर्भिलेन्स बेलुनले नयाँ विवाद निम्तायो


काठमाडौँ— अमेरिकाकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले चीनको भ्रमण स्थगित गर्नुभन्दा अगाडी नै संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्ध चिसिएको थियो । हालैमात्र अमेरिकी आकाशमा चिनियाँ सर्भिलेन्स बेलुन ट्र्याक गरेपछि दुईबिचको विवाद पुन उत्कर्षमा छ ।

अमेरिकाले आफ्नो देशको महत्त्वपूर्ण सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको एउटा ठूलो चिनियाँ बेलुनलाई खसालेको छ । अमेरिकी रक्षा मन्त्रालयले लडाकु विमान प्रयोग गरी समुद्री क्षेत्रमा बेलुन खसालेको जनाएको छ । उक्त जासुस बेलुन शनिबार क्यारोलिना तटमा उत्तरी अमेरिकाको संवेदनशील सैन्य क्षेत्रहरू पार गरेपछि राष्ट्रपति जो बाइडेनले बेलुन खसाल्न अनुमति दिएका थिए । साउथ क्यारोलिनाको तटीय क्षेत्र पार गरेको चिनियाँ बेलुनलाई गोली हानेर खसाल्ने पाइलटहरूलाई राष्ट्रपति बाइडेनले बधाई समेत दिएका थिए । चीनले भने मौसम अवलोकनका लागि छाडिएको बेलुन बाटो बिराएर त्यहाँ पुगेको जनाएको थियो भने अमेरिकाले बेलुन खसालेकोमा चीनले असन्तुष्टि जनाएको जनाएको छ ।

अमेरिकामा जासुस बेलुन देखिएपछि विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ यात्रा स्थगित भएको थियो । यसले वाशिङटन र बेइजिङ बीचको तनाव बढाउने काम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन । ब्लिन्केन, राष्ट्रपति जो बाइडेन र अन्य शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीबीचको उच्चस्तरीय वार्तालापपछि विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण स्थगित भएको थियो भने चिनियाँ विदेश मन्त्रालयले उक्त मानवरहित बलुन मौसमको अनुसन्धानका लागि प्रयोग गरिने गरेको र त्यो निर्धारित बाटो बिराएर त्यहाँ पुगेको प्रतिक्रिया दियो ।

यी दुई देशबीचको सम्बन्धमा हालैका वर्षहरूमा कैयौँ चुनौती देखिएको छ । ट्रम्पकालीन व्यापार युद्ध, ताइवानलाई लिएर तनाव र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा अघि बढेको आक्रामक चीनले हालैका वर्षमा सम्बन्धलाई पछि धकेलिदियो । युक्रेनमाथिको रुसी हमलालाई निन्दा गर्न चीनले अस्वीकार गरेपछि उक्त सम्बन्धमा थप तिक्तता देखापरेको छ । त्यसपछि गएको नोभेम्बरमा विश्वका प्रमुख अर्थतन्त्रहरू सहभागी जी २० को शिखर सम्मेलनको मौका पारेर राष्ट्रपति जो बाइडन र राष्ट्रपति सीबीच भेटवार्ता भयो । दुई नेताले द्वन्द्वलाई टार्ने इच्छा व्यक्त गरे र आफ्नो अभिव्यक्तिको आक्रामकता कम गरे । विदेश मन्त्री ब्लिङ्कन त्यसलाई थप अघि बढाउन चाहन्थे । बलुनले नयाँ विवाद निम्त्याउनु अघिसम्म पनि चीन अमेरिका सम्बन्धमा धारणा राख्ने शैली भन्दा अन्य विषयमा खासै ठोस परिवर्तन देखा परेको थिएन ।

बेलुन एटलान्टिक महासागरमा सिधै खसेको प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा प्रस्टसँग देखिएको छ । त्यस्तै विस्फोटको आवाज सुनेको र महसुस गरेको ट्विटर प्रयोगकर्ताहरुले जनाएका छन् । बलुन गैर सैनिक भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले प्रतिक्रिया दिएको छ । चीनले अमेरिकालाई संयम अपनाउन र यस समस्यालाई शान्तिपूर्ण र व्यावसायिक रूपमा समाधान गर्न पनि आग्रह गरेकोे छ । अन्तत आफ्नो जीत देखाउनका लागि यो अमेरिकाले गरेको राजनीतिक स्टन्ट भएको चीनको आरोप छ ।

पछिल्ला केही दिनमा अमेरिकी सेनाले फिलिपिन्समा आफ्नो उपस्थिति विस्तार गर्न लागेको घोषणा गरेको थियो जसले चीनलाई लिएर अमेरिकाले फिलिपिन्ससँगपनि महत्त्वपूर्ण सम्झौता गरेको खुलासा गरेको छ । त्यसरी अमेरिकाले बल प्रयोग गरेको भन्दे चीनले असन्तुष्टि र विरोध जनाएको छ । चिनियाँ पक्षले निरन्तर अमेरिकी पक्षलाई उक्त बलुन बाटो बिराएर त्यहाँ पुगेको र बेलुन खसाल्नु अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लङ्घन भएको बताएको छ ।

बेलुन पहिलो पटक जनवरी २८ मा अलास्काको अमेरिकी आकाशमा प्रवेश गरेको थियो । यस्तो विमान अमेरिकी भूमिमा उडेको यो पहिलो घटना भने होइन डोनाल्ड ट्रम्पको कार्यकालमा तीन वटा बेलुन र बाइडन प्रशासनको पालामा एउटा बेलुन देखिएको थियो ।