Breaking

सकिने खेलमा ओली–प्रचण्ड, सत्तामा किन एक हुन सक्दैन कम्युनिष्ट, दोषी को ?


काठमाडौँ— राजनीतिक सिद्धान्तले नै जोडिएका ओली–प्रचण्ड सत्ता स्वार्थकै कारण भने सधै मतभेदमा देखिन्छन् । जसले वर्तमान सरकार र गठबन्धनको भविष्यबारे अनेक प्रश्न उठेका छन् ।

कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउँन पार्टी एकतापछि भएको नेकपा २१ महिनामा नै पुरानै अवस्थामा फर्किएको यथार्थ जगजाहेर नै छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको शक्ति संघर्ष र दम्भका कारण सर्वाेच्च अदालतबाट भएको सम्बन्ध विच्छेदपछि ओली–प्रचण्डको त्यो पहिलो इनिङ्सको त्यस्सै समाप्ती भयो ।

सकिनुभन्दा सप्रिनु ठीक ठानेका दुवै अहिले एकै गठबन्धनमा छन् । पुरानै बाटोमा फर्किएको ओली प्रचण्डको दास्रो इनिङ्स फेरि पुस १० गतेबाट सुरु भएको छ । कांग्रेसले प्रधानमन्त्री नदिएको झोकमा रहेका प्रचण्ड र झण्डै साढे २ वर्षसम्म प्रतिपक्षमा रहेका ओलीबीच सत्तासमीकरण सहयात्राको आधार बन्यो । तर पछिल्लो घटनाक्रमले यो सहयात्रा पनि छोटै रेसको घोडा सावित हुँदै गएको छ । ओली प्रचण्डको सम्बन्धमा फेरि दरार सिर्जना भएको छ ।

देशको प्रधानमन्त्री त प्रचण्ड हुन् तर उनलाई ओलीले निषेधमा राख्दै आएका छन् । उच्चस्तरीय संयन्त्रदेखि सरकार सञ्चालनसम्म ओलीको छायाँमा प्रचण्ड लुप्त छन् । मन्त्रालय विभाजनमा पनि ओलीको सिंगो हस्तक्षेप देखियो । नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने इच्छा प्रचण्डमा हुँदाहुँदै पनि ओलीकै कारण भौतिक तथा पूर्वाधारमा थन्किए । प्रधानमन्त्री प्रचण्ड भए पनि शासन भने ओलीको चलेको माओवादी नेतादेखि अन्य सांसद नै बताउँछन् ।

समय जति बित्दै जाँदै छ, शक्ति संघर्षमा उलटफेर पनि भई नै रहेको छ । ओलीको दवावमा रहेका प्रचण्ड बिस्तारै आफू शक्तिको केन्द्र बन्दै गएका छन् । कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएदेखि उनमा विश्वास बढेको देखिन्छ । रविलाई काँधमा बोकेर हिडेका ओली र रविलाई मन्त्रालयभन्दा बाहिर राख्न खोजेका प्रचण्डमा यति आत्मबल बढेको छ कि ओलीकै कारण खुस्किएको गृह अहिले उसैको हातबाट खोसिदिएको छ । माओवादीसँगै प्रशस्त विकल्प हुँदा प्रचण्ड पनि ढुक्क भएको बुझिन्छ ।

रास्वपालाई गृह नै दिनु पर्ने माग ओलीले राखिरहँदा प्रधानमन्त्री प्रचण्डले भने रवि र रास्वपालाई गृहमन्त्री दिन ठाढै अस्वीकार गरिदिए । जसका कारण रास्वपा सरकारबाट बाहिरिसकेको छ । ओलीले दवावमा राखिरहेको प्रचण्डले उल्टो ओलीलाई नै निषेधमा परिदिएका छन् । लामो समयदेखि पूर्णबहादुर खड्का सँगको संवाद र कांग्रेस सँगको नजानिदो छलफलले प्रचण्डलाई कांग्रेसले साथ दिएको स्पष्ट छ ।

विश्वासको मत दिनुअघिसम्म एमालेतिर ढल्केको प्रचण्ड विश्वासको मत पाइसकेपछि भने कांग्रेस तिर कोल्टे फेरिरहेको छ ।राष्ट्रिय सभाको चुनावमा सर्वसम्मतिबाट माओवादीले उम्मेदवारी दिने भएपछि कांग्रेसले कुनै उम्मेदवारी नै नउठाइ बाटो खुला गरिदियो । प्रचण्ड र कांग्रेसको जति विश्वास मजबुत हुँदै गइरहेको छ । त्यति नै ओली र प्रचण्डको सम्बन्धमा तिक्तता पनि बढ्ने छ । ओली प्रचण्ड यस्ता नोकझोकले उनीहरुको दोस्रो इनिङ्स पनि पहिलोको जस्तै अस्थिर हुने देखिन्छ ।