Breaking

सरकारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै


काठमाडौँ – गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिंदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ ।

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार सरकारमा बस्ने कि नबस्ने भनेर आज निर्णय हुनेछ । शनिबार राति पनि रास्वपाको बैठक बसेको थियो । तर बैठक अनिणिर्त भएपछि आइतबार बिहान ११ बजे पुनः बैठक बस्न लागेको हो ।

रास्वपाका नेताहरुले आजको बैठक लम्बिन सक्ने भन्दै यदि बैठक लम्बिए संसद बैठकमा नगइकन छलफल गरिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको गत बिहीबार बसेको बैठकले गृहमन्त्रालय पाउनुपर्ने पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ ।

आफूले दिएको अल्टिमेटम सकिनु अघि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले गृह बाहेक अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका थिए । तर लामिछानेले सरकार गठनको बेलामै गृह मन्त्रालय आफ्नो पार्टीको भागमा परेको भन्दै गृह नछाड्न आफूलाई पार्टीभित्रबाट दबाव रहेको बताएका थिए । नेकपा एमालेले पनि रास्वपालाई गृह मन्त्रालय नै दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिंदै आएको छ ।