Breaking

परराष्ट्रमन्त्री पौड्यालले गरिन् श्रीलंकाका राष्ट्रपतिसँग भेट


काठमाडौँ – परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शनिबार साँझ शिष्टाचार भेट गरेकी छन् ।

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ रहेकी मन्त्री पौड्यालले राष्ट्रपतिसँग भेट गरी दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलंकाका राष्ट्रपतिसँग परराष्ट्र मन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन आग्रह गरेकी छन् ।

मन्त्री पौड्यालले श्रीलंकाको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरुसँग अलग अलग भेटवार्ता गरेकी छन् ।

ती देशहरुका विदेशमन्त्रीहरुसँगको भेटमा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क संजाल विस्तार गर्नुपर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेकी थिइन् । परराष्ट्र मन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।