काठमाडौँ — विकसित देशहरुमा ३ प्रतिशत जनता कृषक हुँदा पुरै देशलाई पुग्ने खाद्यन्न उत्पादन गर्छ । तर, बिडम्बना नेपालमा भने देश नै कृषि प्रधान भएर ६० प्रतिशत कृषक हुँदा पनि हामी आत्म निर्भर हुन सकेका छैनौं । राज्यको कृषिलाई हेर्ने पुरातन शैली र कृषकको समस्यालाई बेवास्ता गर्दा किसानको समस्या समस्यामै छ । दृश्य हेर्दा तपाईलाई लाग्ला कि यी कृषि उपज बढी भएर सडकमा असरल्ल छन् । तर, होइन । यो त भारतीय अखाद्य उत्पादनले बजार पाईरहँदा देशको उत्पादन बारीमै कुहिन थालेपछि चितवनका कृषकहरुको आक्रोशको परिणाम हो । नेताहरुले कृषिलाई लिएर जतिसुकै ठूला कुरा गरे पनि देशका कृषकको वास्तविक यथार्थ भने यही नै हो । एक त नेपालमा कृषि पेशा अपनाउन नै गाह्रो छ ।
अर्कातिर समयमा नै मल, बीउ, सिञ्चाई जस्ता कृषिका लागि आवश्यक तत्वको समस्याले किसान सधै मारमा नै पर्ने गरेका छन् । जसो तसो आफ्नै परिश्रमले उत्पादन गरेको उपज पनि बजारसम्म पुग्नै पाउँदैन । भारतीय उत्पादनसँग स्वदेशी उत्पादनले प्रतिष्पर्धा गर्न नसक्दा देशका कृषक आफ्नो मेहनतलाई कुल्चेर लत्याउन बाध्य छन् । जसका कारण कृषकहरु राज्यको नीति विरुद्ध आन्दोलनमा होमिएका हुन् ।
राज्यको गैरजिम्मेवारीपनले नै अहिले कृषक मारमा परेका छन् । कृषिबाट नै देशलाई समृद्ध बनाउँछु भन्दै ठूलो हुंकार गर्ने राज्यले वास्तविकतालाई नजर अन्दाज गरिरहेको छ । भारत सरकारको अनुदान र संरक्षणमा आधारित मैदानी कृषि उपजसँग नेपालको पहाडी र किसानको स्वमेहनतमा आधारित कृषि उपजले प्रतिष्पर्धा गर्नै सक्दैन भन्ने ज्ञान राज्यलाई छ । तर, पनि राज्य कृषि अनुदानमा भन्दा आयातमा केन्द्रीत छ । यसरी ६० प्रतिशत किसान असफल हुँदै गर्दा कृषि प्रधान देश कसरी सफल हुन सक्छ भन्ने प्रश्न उठ्नु स्वभाविक छ ।
देश समृद्धिको एक महत्वपूर्ण आधार भनेको कृषि नै हो भन्ने सबैको रटान सुन्दै आएको पनि दशकौं बितिसक्यो तर, मुलुकले समृद्धिको बाटो भने अझै पहिल्याएको छैन । बरु कृषकले आफूले उत्पादन गरेको दुग्धजन्य, तरकारी जस्ता कृषि उपजले मुल्य नपाएर सडकमा फाल्नु पर्ने बिडम्बनाको सामना गरिरहनु परेको छ । यति हुँदासम्म पनि किसानको पीडाले देश हाक्नेहरुको मनमा चिसो पसेको देखिदैन । मन्त्रालय भर्नकै लागि मात्र पदपूर्ति गर्ने हुँदा किसानको समस्या ज्यूँकात्यूँ छ । यता भारतीय उत्पादन कम मुल्यमा पर्ने दावी गरिरहँदा नेपाली भान्छाको महंगी भने कम हुन सकेको छैन ।
उपभोक्ता पनि महंगीका कारण तरकारी किनेर खान नसक्ने अवस्थामा छन् । तर यहाँ मुख्य दलका राजनीतिज्ञलाई भने सत्ता शक्ति कसरी हत्याउने भन्ने लडाइँमै व्यस्त छ । किसानकोे विषय उनीहरुको प्राथमिकताभन्दा बाहिर छ । जबसम्म नेतृत्व गर्नेहरुको नियत ठिक हुँदैन तबसम्म कृषकले यस्ता समस्या भोगिनै रहनु पर्ने निश्चित छ ।
प्रतिक्रिया