Breaking

नागरिक उन्मुक्ति पार्टीका सांसद कारागार चलान


काठमाडौँ— नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ। बिहिबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी पुर्‍याएको प्रहरीले शुक्रबार बिहान उनलाई कैलाली जिल्ला अदालतमा बुझाएको थियो। अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो।

उनले अदालतको फैसला अनुसार सजाय भुक्तान नगरेको भन्दै अदालतले कारागार चलान गरेको हो। दोषी ठहर गरिएकामध्येका वीरबहादुर चौधरीले गत शुक्रवार मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रूपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊँ भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए।

बिहिबार दिउँसो सांसद चौधरीलाई बाँकेको बैजनाथपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई हवाईजहाजमार्फत नेपालगञ्जबाट काठमाडौं र त्यहाँबाट धनगढी ल्याइएको थियो। २०७९ मंसिर ४ गतेको चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

चौधरीलाई पक्राउ गरिएपछि रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टी, थारु कल्याणकारिणी सभा लगायतले आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले सरकार र तत्कालीन आन्दोनकारी थरुहट थारुवान पक्षबीच २०६६ भदौ ३ गते यो ट्याक्टर जलाइएको लगायतका मुद्दा फिर्ता लिने समझदारी भइसकेको दाबी गरेका छन्।

सम्झौता भए पनि पुरानो विषयलाई सुनियोजित ढंगले उठाइएको नागरिक उन्मुक्ति पार्टीको भनाई छ।