Breaking

राप्रपाको दोधारे चरित्र, सिद्धान्त र सत्ताको पेलानमा लिङदेन


काठमाडौँ — राजनीतिक सिद्धान्त नै नमिल्ने दलहरु सत्ताका लागि एक ठाउँमा उभिए । सत्ताकै लोभमा जवरजस्त सत्ता–सहयात्री बने । सप्तरङ्गि र खिचडी सरकारको आन्तरिक मतभेत संसदमा छरपष्ट हुन थालेको छ । गणतान्त्रिक पक्षधर र विरोधी शक्तिहरूको टसलले सदन थप रोचक मात्र बनेको छैन उनीहरुको सह–यात्रामा समेत शंका सुरु भएको छ । प्रतिनिधिसभाको बैठकमा नेकपा एमाले, माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरु, सत्तापक्षकै सांसदहरुबीचको यो चर्काचर्की हेर्न लायकको रह्यो । अझ प्रष्ट भन्दा गणतन्त्रवादी र राजवादी सांसदहरुबीचको जुहारीले राष्ट्रिय राजनीति तरंगित बनाएको छ ।

विचारमा वेमेल हुँदा हुँदै सत्ता र शक्तिको स्वार्थमा सहयात्री बनेकाहरुको यो दन्त बजान आफैमा लज्जास्पद छ । सदनमा तर्क–वितर्क स्वभाविक भए पनि सत्ताका सहयात्रीबीचको गठबन्धनभित्र फरक सिद्धान्त भएकाले सरकारमा सहभागी हुनु हुँदैन भन्ने फरक मत हुँदैहुँदै सत्ताको सौदावाजी मिलेपछि राप्रपा सरकारमा शसर्त सहित सहभागी भए । प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने तर सरकारमा सहभागी नहुने अडान कसेका लिङदेन उपप्रधान सहित उर्जा मन्त्रालय पाउने भएपछि राजावादी लिङदेन गणतन्त्रवादीको बहुमत रहेको प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भए ।

राजनीतिक सिद्धान्त नमिल्नेसँग एउटै थालमा खान उनी तयार भए । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाभित्र पद पाएकाहरु चुप बसेको र नपाएकाहरुले सिद्धान्तकै रटान मुख्य विषय बनाएको विश्लेषण समेत हुन थालेको छ । पद पाएकाहरु पदको स्वादमा रमाईरहँदा नपाएकाहरुलाई सिद्धान्तले पोलिरहेको अर्कोथरीको विश्लेषण छ । तर यता राप्रपाका केही नेताहरु भने यो स्वीकार गर्न तयार छैनन् । राप्रपाले सत्ताका लागि भन्दा पनि जनजीविकालाई केन्द्रमा राखेर सरकारमा सहभागी भएको दावी गर्छन ।

आफ्नो राजनीतिक सिद्धान्त संधै मुख्य प्राथमिकतामा रहने उनीहरुको दावी छ । सदनमा सैद्धान्तिक मतभेद हुनु र वैचारिक छलफल स्वभाविक हो । तर सत्ताका सहयात्रीहरुले सदनमा यो खालको रवैयालाई भने नौटंङकीको संज्ञा दिन थालेका छन् । सत्ताका लागि पार्टीहरु कतिसम्म क्षयिकरण उन्मुख छ प्रष्ट पारेको छ । सदनमा सत्ता भन्दा सिद्धान्तको यो रटान कतिन्जेल टिक्छ चासोमा छ ।