Breaking

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ । बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कार्यसमितिको बैठक बोलाइएको हो ।

राष्ट्रियसभा उपाध्यक्ष र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा गम्भीर छलफल गरेर मात्र आवश्यक निर्णय लिनेगरी बैठक बोलाइएको उनले बताए ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेसँगै कांग्रेसले त्यसबारे पनि छलफल तिव्र बनाएको छ । १० पुसमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति पद पाउनपर्ने बताउँदै आएको छ ।

यद्यपि सत्तारुढ गठबन्धनमा भने नेकपा एमालेले आफ्नो भागमा परेको भन्दै कांग्रेसलाई राष्ट्रपति नदिने बताएको छ । यसबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।