Breaking

रविमाथि प्रचण्डको लगातार धोका, सात बर्ष पहिले कार्यक्रम खोसे–अहिले मन्त्री,प्रचण्डको ठाउँ रविले लिने डर


काठमााडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नदिने पक्का जस्तै छ । तर रवि रोकिएर त्यसलाई स्वीकार्ने पक्षमा छैनन्, बरु सरकारबाटै बाहिरिनेसम्मको चेतावनी दिइरहेका छन् । फलतः सत्ताधारीकै बीचमा चलिरहेको खटपटले सुखद् संकेत दिएको छैन । कहिले यता, कहिले उता सबैतिर सबैसँग खेल्दै सत्ताको चस्नी चुसी राख्ने लत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हो । कसैले यसलाई प्रचण्डको चातुर्यताका अर्थमा विश्लेषण गर्छन भने कसैले राष्ट्रिय समस्याको खलनायकमा रुपमा अथ्र्याउँछन् ।

जसलाई रोक्नका लागि ‘नो नट अगेन’सहितको हुँकार लगाएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीअहिले सत्ताको एक हिस्सा छ । तर स्वतन्त्र पार्टीकै सभापति रवि लामिछानेको रफ्तारमा रोक लगाउन प्रचण्डले ‘नो नट अगेन’ लगाएका छन् ।नागरिकता मुद्धाकै कारण सांसद पद गुमाएपछि फेरि पनि गृहमै फर्किन चाहेका रविलाई प्रचण्डले नो भन्दै रोकिदिएपछि सत्ता गठबन्धनमा हलचल मच्चिएको छ । अब प्रचण्ड सच्चिने कि रवि सकिने रस्साकस्सीकै अवस्था छ ।

रवि–प्रचण्ड वारपारको सिलसिला अहिलेदेखिएको जस्तै सतही मात्रै पनि होइन । यो भन्दा भयंकर खेल यी दुईबीच झण्डै सातबर्षअघिदेखि चल्दै आएको छ ।अमेरिकाबाट फर्के लगत्तै रविले नेपाल टेलिभिजनमा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’कार्यक्रम चलाउँथे । तर माओवादीसँग मिलेर प्रधानमन्त्री बनेका ओली प्रचण्डले समर्थन फिर्तालिएसँगै सत्ताच्युत भए । प्रचण्ड देशको नयाँ प्रधानमन्त्री बने । त्यसको बज्र रविमाथि पनि बजारियो । प्रधानमन्त्री बनेलगत्तै रविबाट कार्यक्रम खोस्दै प्रचण्डले माओवादी निकट बबिन शर्मालाई जिम्मा लगाइदिए ।आफैले उत्पादन गरेको कार्यक्रम आफैबाट खोसिएपछि रवि प्रचण्डप्रति रिसले आगो बनेका थिए ।तत्कालै उनले सिधाकुरा प्रधानमन्त्रीको ठाउँमा‘सिधा कुरा जनतासँग’ चलाउने निधो गरे ।

कार्यक्रम हिट भयो । रविका अधिकांश श्रृंखलामा प्रचण्ड १७ हजारका हत्यारा करार हुन थाले ।त्यसपछि यी दुबैबीच मौका मिल्नेवित्तिकै एकले अर्काेलाई हिलो छ्याप्ने र बद्ला लिइहाल्ने श्रृंखला चल्यो । रवि प्रचण्डविरुद्ध त्यतिबेला आँधी बनेर उदाए, जतिबेला उनी पार्टी गठन गर्दै प्रचण्डकै निर्वाचन क्षेत्रमा प्रचण्डविरुद्धैचुनाव लड्न गए ।रविको समर्थनमा नारायणीतिरमा देखिएको भीडले प्रचण्डको हार पक्का गरेको थियो ।

तर त्यसबाट तर्सिएका प्रचण्ड त्यसअघि नै चुनाव क्षेत्र छोडेर गोरखा हानिएपछि रवि चितवन २ मा लडेर यो निर्वाचनकै अत्यधिक मतान्तरका साथ विजयी हुने सांसद बने । अब पाइलापाइलामा आफ्नै विरुद्ध होमिएका रविलाई प्रचण्डले समर्थन दिने कुरै भएन । सत्तामा पुग्नका लागि रवि आवश्यक भएपनि अहिले काँग्रेसको समर्थन पाएपछि मोटाएका प्रचण्डउनलाई रोक्न खुलमखुल्ला उत्रिएका छन् ।

रविलाई मन्त्रिपरिषद्को चौथो वरियतासहित उपप्रधान तथा गृहमन्त्री बनाउने विषयमा पनि प्रचण्डको रुचि थिएन । तर गठबन्धनको नेतृत्व गरेका ओलीले चाहेपछि नारायणकाजीको गृहमन्त्री हुने चाहनालाई रोक्दै प्रचण्ड पनि राजी हुन बाध्य बने । रविकै कारण माओवादी ठूला नेता मन्त्रीपरिषद्मा सहभागि नै भएका छैनन् । रविले मन्त्रिपरिषद्को पहिलो बैठकमै सरकारको प्रतिपक्ष बन्छु भनिदिए ।

त्यसलेसमेत चिढ्डिएका प्रचण्ड अहिले रविलाई रोक्ने मात्रै होइन, स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपनि फरक पर्दैन भन्ने अवस्थामा छन् । किनकि गठबन्धनकै नेतृत्व गरेका एमाले अध्यक्ष ओली र सरकारमै सहभागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री बनाउन प्रस्ताव गरेपनि प्रचण्ड सहमत भएका छैनन् ।

रवि लामिछानेप्रति जति क्रेज छ त्यति नयाँ आश र भरोसा पनि छ । त्यसैले अब प्रचण्डभन्दा रवि लामिछाने नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’ गर्ने व्यक्ति हुन सक्छन्भन्ने टिकाटिप्पणी भइरहेका छन् । अब प्रचण्ड नभई, रवि नेपाली राजनीतिको निर्णायक शक्ति बन्ने र आगामी निर्वाचनपछि माओवादीको हैसियत ओगट्ने विश्लेषण भइरहेका छन् ।

तर शुरुवातमै रविमा देखिएको सत्ता मोहको गन्धले उनको छबि नै गन्हाएको छ । असफल नेतृत्वको पछि लागेर सफल भइँदैन भन्ने बुझेर पनि रवि सत्ताका प्रचण्डसँग झगडा चर्काइरहेका छन् । यसले उनका समर्थकमाथि पनि निराशाको सञ्चार गराएको छ ।