Breaking

गठबन्धनमा संकट : ओली रविको पक्षमा उभिँदा प्रचण्ड देउवाको, राष्ट्रपति एमाले र गृहमन्त्री रास्वपाले नपाउने


काठमाडौँ – गठबन्धन बन्दै सरकार गठन भएको एक महिना बित्न नपाउँदै दलहरुबीच अनेक बिमेल देखिन थालेका छन् । जसले सत्ता सहकार्यमाथि प्रश्न त उठाएको छ नै राष्ट्रपतिको निर्वाचन र गृहमन्त्रालय प्रति माओवादी किन कठोर बन्दै छ ? थप शंका भइरहेको छ ।

नानीका बाले बालुवाबारमा वेवास्ता गरेपछि बालकोटका बुढा बाको शरणमा परेका रवि लामिछाने उकुसमुकुस छन् ।यसैकारण मंगलबार बिहान प्रचण्डको ओछ्यानमै पुगेर चियाको चुस्की दिएका रवि अपरान्हको खाजा खान बालकोट पुगे । गृहमै फर्किने रविको चाहनाका अघि प्रचण्डले अस्वीकारको घण्टी बजाएपछि रवि बालकोट पुगेर ओलीको ओत खोजिरहेका छन् । जबकि सर्वाेच्चको फैसला आउनुभन्दा अघिल्लो रात पनि ओलीकै निवासमा आधा रात बिताएका रविले न्याय पाएका थिएनन् । अब तीनदिन अघिसम्मै आफ्नै तेजोबधमा रहेको मन्त्रालय पाउन रविलाई मरिहत्ते गर्नुपरेको छ ।

राष्ट्रपतिमा प्रचण्डले राष्ट्रिय सहमति खोज्ने निर्णय पार्टीको आधिकारिक निकायबाटै गराएपछि बालकोट र बालुवाटारबीच दूरी मात्रै बढेको छैन, हप्तादिनदेखि ओली–प्रचण्ड संवादहिनता चलिरहेको छ । आफ्नै उपप्रधान तथा गृहमन्त्रीमाथि अदालतले अनागरिकको फैसला सुनाइसक्दा पनि प्रमुख घटकलाई आइपरेको बज्रपातका विषयमा गठबन्धन छलफल गर्न पनि तयार नुहुनु आफैमा आश्चार्यजनक छ । झन आफ्नै पार्टीको पार्टी बैठक पर सार्दै देउवाले प्रचण्डलाई ढाडस दिएको विषयले पनि राजनीतिमा अनेक सम्भावना देखाइरहेको छ ।

गठबन्धनको बैठकमै अल्पमतमा परेको गुनासो गर्ने प्रचण्ड यतिबेला हुकुमीशैलीमा छन् । जुन ओलीका लागि सह्य भएको छैन । सभामुख र राष्ट्रपतिमा तमसुक गराएका ओली, महिनादिन नपुग्दै प्रचण्डले राष्ट्रपतिमा खेलेको दोहोरो भूमिकाले थप सशंकित बनेका छन् । अब एमालेले के गर्छ भन्ने प्रश्न उठिरहेका बेला नेताहरु नै विदेशीदेखि स्वदेशहरुसमेत गठबन्धन फुटाएर अस्थिरता निम्त्याउन लागि परेको दाबी गरिरहेका छन् ।

एमालेसँग कुनै लिखित सहमति नभएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने लाइन प्रचण्डको छ ।रविको बहिर्गमनलाई सुखद् लिएका प्रचण्ड गृहमन्त्रीलाई पनि आफैले राख्न खोजिरहेका छन् । माओवादीभित्रैबाट पनि अब गृह आफैले राख्नुपर्ने दबाब प्रचण्डमाथि आइरहेको छ । तर गृहमन्त्री नपाए स्वतन्त्र पार्टीले गठबन्धन छोड्ने, राष्ट्रपति नपाए एमालेले गठबन्धन तोड्ने । राजसंस्था र हिन्दु राज्यको वकालत गर्न नपाए राप्रपाले गठबन्धनबाटै मुख मोड्ने । तर सबै थरि तयारीका अघि प्रचण्ड, यी सबलाई तह लगाएरपरिआए काँग्रेससम्म रोज्न तयार देखिएपछि अब गठबन्धन कसरी अघि बढ्ला तनावको अवस्थाका बनेको छ ।