Breaking

वारपार रवि–प्रचण्ड, मूर्ति चोरलाई मन्त्री बनाएका प्रचण्ड रविलाई किन चाहँदैनन् ? बालुवाटारमा हारगुहार


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गृह आशक्तिले गठबन्धनमा गठबड पैदा गरेको छ । प्रधानमन्त्री प्रचण्ड उनलाई फर्काउन तयार नभएपछि त्यसले गठबन्धन भत्किनेसम्मको सम्भावना आँकिएको छ ।

नागरिकता लिएसँगै फेरि चुनाबी मैदानमा गएर जन अनुमोदित हुने र अझ शक्तिशाली भएर कुनै दबाबबिना काम गर्न सक्ने हैसियत बनाउन रवि लामिछानेसँग अवसर छ । तर उनी सर्वाेच्चले पद खाइदिसक्दासमेत अझै गृहमा फर्किन मरिहत्ते गरिरहेका छन् ।

यसका लागि दिनुहुँ बालुवाटारको चक्कर लगाएर प्रधानमन्त्रीसँग हारगुहार उनको दिनचर्या बनेको छ । मानौं उनको पद प्राणसँग जोडिएको छ, जो नभइ स्वास पनि फेर्न सकिँदैन । तर उनकै जस्तो ढीपी लिएका प्रधानमन्त्री प्रचण्ड पनि कुनै हालतमा रविलाई फेरि गृहमा फर्काउन राजी छैनन् ।

विभिन्न बहाना देखाएर रविलाई पदविहिन बनाउने र सकभर माओवादीकै भागमा गृहको साँचो राख्ने प्रधानमन्त्रीको तयारीले गठबन्धनकै भविष्यमाथि प्रश्न उठेको छ । किनकि मंगलबार बिहानमात्रै प्रधानमन्त्रीसँग भेटवार्ता गरेका रविले गृहमन्त्री नपाए सरकार छोड्ने धम्की दिए लगत्तै माओवादीले पनि एउटा पार्टीले छोड्दैमा सरकार संकटमा नपर्ने दाबी गरेको छ । तर यसबारे प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिले गृहकै कारण सत्ता गठबन्धन संकटमा पर्ने पक्का बन्दै छ ।

प्रधानमन्त्री प्रचण्डले अदालतको पूर्णपाठपछिमात्रै गृहबारे निर्णय गर्ने भन्दै राष्ट्रपतिको निर्वाचनलाई ताकेता गरेका छन् । रविलाई गृहमै फर्काउन पहल थालेको एमाले पनि राष्ट्रपतिको निर्वाचनअघिसम्म प्रधानमन्त्री प्रचण्डलाई पेलानमा राख्नसक्ने अवस्था छैन । तर रविलाई तत्काल पद नभइ भएको छैन । हेर्दा स्वतन्त्र पार्टीकै भागमा परेको गृहमन्त्रालय फर्काउन प्रधानमन्त्री प्रचण्डले कुनै आइतबार कुर्नुपर्ने पनि देखिँदैन ।

किनकि विगतमा गैरसांसद व्यक्ति मन्त्री नभएको पनि होइन । गैरसांसद गोविन्द बन्दीलाई कानुनमन्त्री बनाउनेदेखि गजेन्द्र हमाललाई सरकारमा ल्याउनेसम्मका विषयमा प्रचण्डको पनि हात थियो । अहिले सांसद पद खोसिएकै भरमा रविलाई मन्त्री बनाउदिन्न भन्नु प्रचण्डको प्रोपगाण्डामात्रै हुनसक्छ । किनकि मूर्ति चोरलाई कर्णाली प्रदेशको पर्यटनमन्त्री बनाउने पनि प्रचण्ड नै हुन् ।

जबकि अदालतबाट मूर्ति चोरको मुद्धामा दोषी ठहर भएका छिरिङ लामा कोर्चेन पनि गैरसांसद नै थिए । यस्ता गैरसांसदलाई प्रचण्डमात्रै नभएर ओलीले पनि मन्त्री बनाएको फेहरिस्त लामै देखिन्छ । तर अहिले केही गर्छु भन्ने आशसहित आशक्ति जगाएका रविलाई कुण्ठाग्रस्त मानसिकताबाट पछि पार्न खोजिरहेको स्वतन्त्र पार्टीको आरोप छ ।

अहिले रविलाई मन्त्रीमा फर्काउँदैमा आकाशै खस्ने पनि केही होइन । तर विगतमा उनले जेजे विसंगतीको विरोध गरेका थिए, त्यसको चित्र आज उनैमाथि कोरिएको छ । यसलाई ध्यानमा राखेर सरकारबारे निर्णय गर्नु उनकै पक्षमा रहेको जानकारहरु बताउँछन् ।

कतिले त अब सरकारको प्रतिपक्षमा बसेर आफ्नै राजनीति र पार्टी भविष्यलाई जोगाउन सुझाव दिइरहेका छन् । किनकि असफल नेतृत्वको सरकारमा गएर सफल हुने सम्भावना पनि नभएको विश्लेषकहरु बताउँछन् ।

फैसलाको पूर्ण पाठ नआएको र दोहोरो राहदानीको अनुसन्धान पनि नसकिँएको अवस्थामा तालुकवाला मन्त्रालयमै फर्कन गरेको हतारोले कि उनकै कमजोर राजनीतिक परिपक्कता वा स्वार्थको मामिला हुनसक्ने बुझाउँछ ।

किनकि नयाँ दलका अगुवा पनि गैरसांसद अवस्थामै मन्त्री बनेर स्वार्थको द्वन्द्व बढाउन सुशासनको खिल्ली उडाउनुभन्दा कम होइन ।