Breaking

‘गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनुपर्छ’


काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुले गृहमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राख्नुपर्ने निष्कर्ष निकालेका छन् ।

पुस १२ मा सरकार गठन हुँदा पनि गृहमन्त्रालय आफैंले राख्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको स्मरणसहित माओवादी नेताहरुले त्यसो नगर्दा समस्या आउन सक्नेतर्फ सचेत गराएको एक पदाधिकारीले बताए ।

गत शुक्रबार सर्वोच्च अदालतको आदेशले अनागरिक ठहर भएसँगै रवि लामिछानेले उपप्रधान एवम् गृहमन्त्रीबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय आँफैसँग राखेका छन् । तर, आइतवार नागरिकता पुनप्रप्ति गरेसँगै रविले फेरि गृहमन्त्रालयमै फर्किन चाहेका छन् । उनले आइतवारै बालुवाटार पुगेर गृहमन्त्रालयमा फर्काइदिन प्रधानमन्त्रीलाई अनुरोध गरिसकेका छन् ।

तर माओवादी नेताहरु भने आन्तरिक सुरक्षाको गम्भीर जिम्मेवारी बोकेको गृह प्रधानमन्त्रीले छोड्न नहुने पक्षमा उभिएका हुन् ।यसबारे बुधबार बस्ने स्थायी समिति बैठकमा औपचारिक छलफल भएर निर्णय हुन सक्ने जनाएको छ । आज बिहान ११ बजे पनि माओवादी पदाधिकारी बैठक बस्दैछ । त्यसमा पनि गृहमन्त्रालयबारे चर्चा हुने सम्भावना छ ।

सोमबार बसेको माओवादी पदाधिकारी बैठकमा गृहमन्त्रीबारे कुनै चर्चा नगरेको पार्टी सचिव एवम् प्रदेश १ इन्चार्ज राम कार्कीले बताएका छन् ।