Breaking

एमसीसी अघि बढेपछि अमेरिका खुशी, उपमन्त्रीले प्रचण्ड–ओलीलाई दिइन धन्यवाद


काठमाडौँ — अमेरिका र नेपालीबीच कुटनीतिक सम्बन्ध स्थापना भएको साढे सात दशक वित्न लाग्यो । पुरानो कुटनीतिक ईतिहास र उच्चस्तरको सहयोग आदान प्रदानका कारण दुई देशबीचको सम्बन्ध प्रगाढ छ । तर बदलिँदो भु–राजनीतिक प्रभाव त्यसैमाथी नेपालको कुटनीतिक क्षेत्र शिथिल बन्दा त्यसको प्रत्यक्ष असर नेपाल–अमेरिका सम्बन्धमा देखिँदै आएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएयता नेपालमा अमरिकी उच्च अधिकारीहरुको चरणवद्ध उच्चस्तरीय भ्रमण निरन्तर बढ्दो छ । नेपालमा अमेरिका र पश्चिमा मुलुकहरुको चासो बढ्दो क्रममा छ ।

भू–राजनीतिकको दाउपेचमा एमसिसि लक्षित चीनले समेत आफूलाई नेपाल प्रति बढ्ता स्नेह देखाउन थालेको छ । यसै मेसोमा बढ्दो कुटनीतिक सक्रियताकाबीच राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल भ्रमण छिन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेपछि नेपाल भ्रमण गर्ने उनी उच्च पदस्थ व्यक्ति हुन् । उनको यो भ्रमण मुलत अमेरिकी मामिलामा नयाँ सरकारको धारणा बुझ्न भएको परराष्ट्र मामिलाका जानकारहरुको दावी छ ।

आइतवार नेपाल ओर्लिएकी नुल्याण्डले सोमवार प्रधानमन्त्री प्रचण्ड सहित एमाले अध्यक्ष के.पी शर्मा ओली, कांग्रेस सभापति शेर बहादुर देउवासँग छुट्टाछुट्टै दुईपक्षीय भेटघाट गरेकी छिन । झन्डै साढे तीन दशकको कूटनीतिक अनुभव, अब्बल र प्रखर कुटनीतिज्ञको रुपमा स्थापित नुल्याण्डको कुटनीतिक भेट अर्थपूर्ण रुपमा हेरिएको थियो । सोमवार भएको शीर्ष नेताहरुसँगको कुटनीतिक भेटघाटमा नुल्याण्डले नेपालले अमेरिकालाई प्राथमिकतामा राख्न अनुरोध गरेकी छिन । उच्चस्तरी भेटपछि पत्रकार सम्मेलन गर्दै उपविदेशमन्त्री नुल्याण्ड एमसीसीको आगामी कार्यदिशा,बलियो लोकतन्त्र, अन्तराष्ट्रिय मुद्धाहरुमा सहकार्य गर्न नेपालको समृद्धि ,आर्थिक साझेदारीमा सँगै हातेमालो गर्ने उद्देश्य सहित नयाँ सरकार गठन भएपछि नेपाल आएको बताएकी छिन ।

लामो विवादकाबीच कार्यन्वयनमा आएको एमसीसी परियोजना र अस्वीकार भएको एसपीपी योजनाले नेपाल–अमेरिका सम्बन्धबीचको कुटनीतिक सम्बन्ध चासोपूर्ण बनेको छ । अर्कोतर्फ बदलिएको भु–राजनीतिक परिस्थति र नेपालको सामारिक महत्वका कारण नेपाल मामिलामा अमेरिका संधै उदार देखिन्छ । विकास र समृद्धि मुख्य एजेन्डा बनाएका राजनीतिक दलहरुले शक्ति राष्ट्रहरुको चासोलाई नेपालहित अनुकुल प्रयोग गर्न भने असमर्थ जस्तो देखिएको छ । यसतर्फ कुटनीतिक संयन्त्रको ध्यानाकर्षण हुन जरुरी छ ।