Breaking

चर्को ब्याजदरबिरुद्ध व्यवसायी सडकमा, उद्योगीमाथि बैंकहरुको शोषण


काठमाडौँ — नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आबद्ध व्यवसायीहरुले बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध प्रदर्शन गरेका छन् । सोमवार काठमाडौंको माईतीघर मण्डलामा महासंघ बैंकको चर्को ब्याजदरबिरुद्ध सडक आन्दोलनमा उत्रिएको हो । बैंकहरुको चर्को ब्याजदर र आतंकबिरुद्ध यतिबेला व्यवसायी र आम नागरिक रुष्ट छन । नेपाल राष्ट्रिय व्यवसायी महासंघ त सोमबार सडक आन्दोलनमै उत्रियो ।

बिरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ, नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माईतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको तथा बैंक तथा वित्तीय संस्थाहरुले आतंक फैल्याउँदा व्यवसायीहरु पीडित भएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको व्यवसायीहरुले बताए । उनीहरुले दुई वर्ष अगाडि ८ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पु¥याएकाले व्यवसायीहरु मर्कामा परेको गुनासो गरेका छन । अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई शोषण गरेको व्यवसायीहरुको गुनासो छ ।

महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले सरकारलाई लामो समयदेखि आफ्ना माग सम्बोधन नभए सडक आन्दोलन गर्ने जानकारी गराउँदा समेत व्यवसायीहरुका माग पूरा नगरेकाले बाध्य भएर सडकमा आउनु परेको बताएका छन । आफूहरुले उठाएका मागहरु सरकारले तत्काल सम्बोधन नगरे मुलुकभरका उद्योगी व्यवसायीहरु वृहत आन्दोलनमा उत्रने व्यवसायीहरुले चेतावनी समेत दिएका छन । सरकारको व्यवसायीमैत्री नीति नहुनु र बैंकहरुको आंतकको कारण व्यवसायीहरुले आत्महत्या र आत्मदाह गर्न समेत बाध्य बनाएको उनीहरुले गुनासो गरेका छन ।

त्यस्तै,महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंक र व्यवसायीहरुबीच साथीको सम्बन्ध हुनुपर्ने भएपनि गुण्डागर्दीको सम्बन्ध बनाउन खोजेको आरोप लगाइन । उनले बैंकहरुले २० करोडको धितोलाई १० करोडमा लिलाम गर्ने प्रवृति लिएको बताइन । सडक आन्दोलनमा व्यवसायीले बैंकिङ आतङ्क बन्द गर लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए । पछिल्लो समय बैंकहरुको अस्वभाविक ब्याजदरले व्यवसायीहरु पलायन अवस्थामा पुगेका छन । जसमा राज्य भने निकम्मा बनिरहेको छ ।