Breaking

मरणासन्न भारतीय कांग्रेसलाई पुनर्जीवन दिने राहुलको लक्ष्य, के–के छन् चुनौती ?


काठमाडौँ—भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी कन्याकुमारीबाट जम्मु कश्मीरसम्मको ‘भारत जोडो यात्रा’को अन्तिम चरणमा पुगेका छन् । यस यात्राबाट मरणासन्न पार्टीलाई पुनर्जीवन दिने राहुलको लक्ष्य देखिन्छ ।

शक्तिशाली राजनीतिक विरासत बोकेको पार्टी भारतीय कंग्रेसका उत्तराधिकारी हुन राहुल गान्धी । विगत १५ वर्षदेखि कांग्रेस पार्टीले राहुललाई सर्वमान्य राष्ट्रिय नेताका रूपमा उभ्याउन विभिन्न प्रयास गर्दै आएको छ । तर ती कुनै पनि प्रयास सफल हुन सकेका छैन ।

सामन्तवादी चाकरीप्रथा तथा सशक्त एजेन्डाविहीनताका कारण जर्जर अवस्थामा पुगिसकेको कांग्रेसलाई उकास्नका लागि कुनै सार्थक प्रयास गर्नैपर्ने अवस्था आएको छ । त्यसलाई विचार गरी राहुलले देशका विभिन्न भागमा पदयात्रा गरेर धरातलीय यथार्थ बुझ्ने अनि कांग्रेसलाई पुनः जनताको मनमा स्थापित गर्ने योजना बनाएका छन् ।

सन् २०२२ अक्टोबर २ मा कर्नाटकको मैसुरमा राहुलले पानीमा रुझ्दै गरेको सम्बोधनलाई मानिसहरूले सकारात्मक रूपमा लिएका थिए । त्यसको चार दिनपछि राहुलकी आमा सोनिया गान्धी पनि यात्रामा सहभागी हुनका लागि कर्नाटकको मान्ड्या पुग्दा राहुलले झुकेर आमाको जुत्ताको लेस बाँधेको दृश्यले पनि मानिसहरूलाई प्रभावित पारेको थियो ।

भारतमा राष्ट्रिय स्वयंसेवक संघ तथा भारतीय जनता पार्टीले घृणाको वातावरण निर्माण गरिरहेको र यसैमार्फत भारतको मन विभाजन गरेको भाष्य राहुलले स्थापित गर्न खोजेका छन् । त्यसलाई विफल बनाउनका लागि आफू भारत जोडो यात्रामा निस्किएको उनको भनाइ छ । जे होस्, राहुलले यस यात्रामार्फत आरएसएस–भाजपाविरुद्ध पार्टीको विचारधारा थप आक्रामक बनाउने छाँट देखाएका छन् । राहुलको भारत जोडो यात्रामा सबै उमेर समूहका मानिस सामेल हुँदै छन ्।

बच्चालाई प्रेमले उठाएर काँधमा बोक्दै गरेका राहुल गान्धी कुनै रंगबाज कुचीले हजारौं रंगको सुन्दर सपना सजाउन उत्ताउलो बनेझैं देखिन्छन । यस्ता दृष्यले वर्तमान केही बेर हटाउनै नसकेजस्तो गरी अडेजस्तो लाग्दछ । राहुलले यी बच्चालाई करोडौंको आशा र सपनाको पंखा लगाउन सक्ने कथा सुनाउन सक्नेछन ।

समाजमा बच्चाका कथाले राहुल गान्धी मान्छेका मनमा इन्द्रधनुष बनाउन खोजेको जस्तो देखिन्छ । पतनको बाटोमा रहेको गान्धी परिवारको काङग्रेसलाई उकास्ने गान्धी बंशको लागि यो अन्तिम अबसर हुन सक्छ ।