Breaking

शिक्षामन्त्रीले कमिसन खान खोजेको हो ? तोसिमा किन परिन् विवादमा, डोलप्रसादमाथिको सवाल के ?


काठमाडौँ—जनतालाई ठूलो आशा र भरोसा दिलाउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो निर्वाचनमा नै जनताको राम्रो साथ पायो । त्यही साथको आधारमा सरकारमा सहभागी भएको पार्टीका मन्त्रीहरु अहिले विवादित बनिरहेका छन् ।

पहिलो निर्वाचनबाटै सरकारमा पुग्ने दल कमै हुन्छ । त्यही कमै दलमध्येको एक हो राष्ट्रिय स्वतन्त्र पार्टी । पार्टी निर्माण गरेको एक वर्ष नपुग्दै प्रतिनिधि सभा निर्वाचनमा २० सिटसहित चौँथो पार्टी बन्न सफल रास्वपा अहिले सत्तारुढ गठबन्धनमा छ ।

लामिछानेलाई अदालतले सांसद बन्न अयोग्य रहेको ठहर गर्दै पदमुक्त गरेपछि भने अहिले उनी सरकारबाट बाहिर छन् । नागरिकता विवादले लामिछाने पदमुक्त हुँदै गर्दा रास्वपाका बाँकी मन्त्रीहरु पनि विवादरहित भने हुने सकेका छैनन् । संस्थापक पार्टी सभापति तथा पूर्व गृहमन्त्री लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्की चारै जना पछिल्लो समय विवादमा मुछिएका छन् ।

पूूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने मन्त्री बनिसकेपछि विवादको पर्याय जस्तै बने । उनले गरेका अधिकांश कार्यलाई सबैले नजिकबाट नियाल्दै गर्दा उनी धेरै विवादमा परे । नागरिकता विवाद हुँदै गर्दा स्वार्थ बाझिने मन्त्रालयमा गएकोबाट नै उनको विवाद सुरु भयो । त्योसँगै पिर्के सलामी, हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरी प्रकरणमा पनि उनी विवादित नै भए । त्यस्तै गिट्टी बालुवा क्रसर उद्योगलाई लगाएको प्रतिबन्ध र त्यसलाई सशर्त खुलाउने निर्णयको विवादले पनि उनलाई पच्छ्याइ रह्यो ।

वीर अस्पतालको कार्डियोलोजी विभागको क्याथ ल्याबको उद्घाटन तोसिमाका लागि विवादित हुने पहिलो सिँडी बन्यो । ल्याब उद्घाटन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र राज्यमन्त्री दुवै पुगेपछि दुईटा रिबन मन्त्री गिरी र स्वास्थ्य राज्यमन्त्री कार्कीले एकैसाथ तल, माथि गरेर रिबन काटेर काटेका थिए । संसद् भवन अगाडि आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई आईसीयू कक्षमा युट्युबरसहित भेट्न गएपछि स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की थप आलोचित भइन् । यो हर्कतले उनले ठूलै विवादको सामना गर्नु पर्याे । यद्यपि, उनले भने राज्य भएको महसुस गराउन गएको प्रतिक्रिया दिएकी छन् ।

मेनपावर व्यवसायी डोलप्रसाद अर्याल श्रम मन्त्री भएपछि उनको नियुक्तीमा नै विभिन्न सवाल उठेको थियो । ठूला म्यानपावर व्यवसायीहरू श्रममन्त्रीलाई प्रयोग गरेर व्यापार हात पार्न चलखेल गरेका घटना बाहिरहँदा अब सिधै म्यानपावर कम्पनीले खोजेर ल्याएको मागपत्र खोज्ने व्यक्ति नै मन्त्री भएपछि उनी विवादको घेरा आएका हुन् । एनजीओ आइएनजीओ सञ्चालन गर्दै आएका शिक्षा मन्त्री शिशिर खनालको पहिलो निर्णय नै विवादित बन्यो ।

कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाईको जिम्मा सरकारी संस्था जनक शिक्षा सामाग्रीबाट खोसेर नीजि क्षेत्रलाई दिने भएपछि उनको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको तर्क गरिएको छ । सरकारको लगानीमा निर्माण भएको जनक शिक्षाको अनियमिततालाई हटाएर बचाउनको साटो मास्न खोजेको भन्दै उनको पुत्ला नै दहन गर्नु पर्ने अवस्था आएको छ । नीजि क्षेत्रलाई प्रोत्साहन गरि आफू कमीसान खान खोज्ने र विद्यार्थीलाई आर्थिक भार पार्न खोजेको भन्दै उनी विवादमा मुछिएका छन् ।

यसरी पार्टीका सबै मन्त्री विवादित बन्दै गइरहँदा रास्वपाबाट नागरिकको भरोसा टुट्न सक्छ । जनताको म्याण्डेट प्रतिपक्षमा नै बस्ने हुँदा हुँदै सरकारमा गएका उनीहरु अब सच्चिन पर्ने राजनीतिक विश्लेषकहरुको तर्क छ ।

सरकारमा गएको छोटो समयमा नै गलत निर्णय र गतिविधि भइरहँदा जनतामा डर पैदा भएको छ । नयाँ आएका दलले नागरिकका विषयमा केही राम्रा काम गर्छन् कि भन्ने आशा कतै निराशामा परिणत हुने त होइन भन्ने प्रश्न उब्जिएको छ । उनीहरुका यस्ता हर्कतले ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने नेपाली उखानले सार्थकता पाउने हो कि भन्ने आशंका गर्ने ठाउँ दिएको छ ।