देश

बजारमा नक्कली मदिरा छ्यापछ्यापती


काठमाडौँ— नक्कली खुकुरी रम र रुस्लान भोड्का बनाउने व्यक्तिहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

प्रहरी टोलीले शुक्रबार र शनिबार छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको सूचनाका आधारमा ललितपुरको कुपन्डोलस्थित नेक्स्ट टेस्ट लिक्विट स्टोर र काठमाडौंको मित्रनगरस्थित एसटी लिक्विट स्टोरमा छापा मारिएको थियो ।

नेक्स्ट लिक्विटका सञ्चालक निरज उप्रेती र एसटी लिक्विटका सञ्चालक धर्मी गौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, ललितपुरको टीकाथलीका विभिन्न स्थानहरूमा स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको नाम दिई नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गर्ने गणेशबहादुर रानामगरलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार एसटी लिक्विट स्टोरले खुकुरी रम र रुस्लान भोड्काको नक्कली ब्रान्ड बनाएको पाइएको छ । नक्कली रक्सी बनाउन प्रयोग गरिने सामग्रीहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।