देश

सन्दीप लामिछानेलाई पुन थुनामै राख्नुपर्ने मागसहित महान्यायाधिवक्ता सर्वोच्च जाने


काठमाडौँ— क्रिकेटर सन्दीप लामिछानेलाई पाटन उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएपछि उनी करिब २ हप्ताअघि २० लाख धरौटीमा कारागारबाट रिहा भएका थिए ।

नाबालिक बलात्कारको गम्भीर अभियोग लागेका सन्दीपलाई पुनः राष्ट्रिय क्रिकेट टोलीमा फर्काउने सम्मका बहस भइरहेको बेला उनीविरुद्ध महान्यायाधिवक्ताको कार्यालय उत्रिएको छ ।

धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा रिट निवेदन हाल्ने भएको हो ।

सन्दीपलाई पुनः थुनामै राखेर मुद्दाको पुर्पक्ष गनुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिने निर्णय भएको बताइएको छ ।

स्रोतका अनुसार उच्च अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यलयले उक्त अदालतका फाइल अध्ययन गरिरहेको र मस्यौदामा थपघटको काम भइरहेको छ ।

प्राप्त प्रमाण तथा बयानबाट आरोप प्रमाणित भएको पनि भन्ने र थुनामा राख्न अनिवार्य छैन पनि भन्ने खालको विरोधाभासी आदेश उच्च अदालतबाट भएकाले सो आदेश कानुनी व्यवस्थाभन्दा बाहिर गएको महान्यायाधिवक्ता कार्यालयको ठहर छ ।

३ वर्षभन्दा बढी समय जेल जाने कसुर गरेको प्रमाणित हुँदाहुँदै लामिछानेलाई धरौटीमा छाड्न नहुने सरकारी वकिलहरुको तर्क छ ।