Breaking

सेवाशुल्क लिन नपाउने सर्वोच्चको आदेश


काठमाडौँ— सर्वोच्च अदालतले होटल, रेस्टुराँले लिँदै आएको सेवाशुल्क (सर्भिस चार्ज) खारेज गरेको छ । सर्वोच्चको बुधवार बसेको संवैधानिक इजलाशले होटल, रेष्टुराँ तथा पर्यटन सेवाप्रदायकले लिने सेवाशुल्क अवैध रहेको भन्दै खारेज गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलाशले होटल, रेस्टुराँ, ट्राभल एजेन्सी लगायत पर्यटन सेवाप्रदायकले लिने सेवाशुल्कको व्यवस्था तत्काल हटाउन परमादेश समेत जारी गरेको छ ।

श्रम ऐन २०७४ को दफा ८७ को उपदफा ३ तथा श्रम नियमावली, २०७५ को नियम ८२ लाई नेपालको संविधानको धारा १३३ को उपधारा १ बमोजिम सेवाशुल्क अमान्य र बदर घोषित गरिएको सर्वोच्चको फैसलामा उल्लेख छ ।

सेवाशुल्क लिनेसम्बन्धी श्रम ऐन र नियमावलीको व्यवस्था खारेज भएसँगै अब होटल, रेस्टुराँ तथा अन्य सेवा प्रदायकले सेवाशुल्कको रूपमा ग्राहकसँग अतिरिक्त रकम लिन पाउनेछैनन् । त्यस्तै, अब वस्तु वा सेवाको मूल्य सम्पूर्ण खर्च जोडेर कानूनले तोकेको भन्दा बढी नाफा नराखी कायम गर्नुपर्नेछ ।

२०७९ माघ ११ गतेदेखि नै लागू हुनेगरी श्रम ऐन, २०७४ को दफा ८७ को उपदफा ३ तथा र श्रम नियमावली, २०७५ को नियम ८२ खारेज गरिदिएसँगै अब होटल रेस्टुराँ तथा पर्यटनसँग सम्बन्धित संघसंस्थाले सेवाशुल्क लिन नपाउने सर्वोच्चद्वारा जारी भएको परमादेशसहितको फैसलामा उल्लेख छ ।