देश

प्रेम आचार्यको मृत्युसँगै सामाजिक सञ्जाल तरंगित, राज्यका हरेक अंगमाथि उठ्यो प्रश्न


काठमाडौँ — संसद् भवनको गेटमा प्रधानमन्त्रीकै अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको आज बिहान मृत्यु भएसँगै यो विषयलाई लिएर सामाजिक सञ्जाल तरंगीत छ । समाजका सबै किसिमका मानिसले घटनाप्रति समवेदना प्रकट गरिरहेका छन् । प्रेमप्रसाद आचार्यको आधा जल्दै गरेको भिडिओ र प्रेमप्रसादले लेखेको लामो स्टाटस यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।देशको केन्द्रीय राजधानी काठमाडौंको नयाँबानेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मादाह गरेका प्रेम आचार्यको उपचारकै क्रममा आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भयो ।

सचेत र शिक्षित नागरिकप्रेमप्रसाद आचार्यको मृत्युले यतिबेला सामाजिक सञ्जालतरंगित बनेको छ । यस्तो मार्मिक घटनामा गृहमन्त्री रवि लामिछाने, सांसद, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, विभिन्न राजनीतिक दलका नेता, कलाकार, बुद्धिजिवीलगायतले आफ्नो सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रेमप्रसाद आचार्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताउँदै यस प्रकरणमा आफुहरु पनि दोषी भएको उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन् । नेता कोइरालाले आत्मदाह पछाडिको कारण खोजेर त्यस्तो परिस्थिति दोहोरिन दिनु नहुने फेसबुकमा उल्लेख गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको आरोप लगाएका छन्। आचार्यको मृत्युपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहका धेरै कारण र संकेतहरु भए पनि ठूलो कारण राज्य भएको बताएका हुन् ।

यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रेम आचार्यको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि भन्ने आशंका गरेका छन् । उनले गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो त भनि प्रश्नसमेत गरेका छन्। यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आत्मदाह गलत भए पनि आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजी हुनुपर्ने बताएका छन् । यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले युवा उद्यमी आचार्यको प्रकरण निकै मार्मिक भएको भन्दै बेलैमा यसलाई गम्भीरतापूर्वक लिएर उपचार खोज्न सुझाएका छन्।

सत्तारूढ दल राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रेमले आत्मदाह गर्नु अगाडि लेखेको स्ट्याटसले राज्य नाङ्गो भएको बताएका छन् । त्यस्तै प्रेम आचार्यले किन मृत्यु रोजे भन्दै लाखौ प्रेमहरूको सपना नतुहाउन सरकारलाई गायक राजेशपायल राईले आग्रहगरेका छन्। त्यस्तै सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राजनीतिकर्मी रञ्जु दर्शनाले व्यवसायी प्रेमप्रसाद आचार्यलाई रकम नतिरेर आत्मदाहको बाटो रोज्न बाध्य पार्ने व्यक्तिको दैलोमा गएर आफ्नो नेतृत्वमा आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।


राज्यव्यवस्थाका हरेक अंगप्रति औँला उठाउँदै प्रेमप्रसादले गरेको आत्महत्या प्रकरण निकै मार्मिक छ । उनले राज्यले सुधानुपर्ने कदमको रुपमा पेश गरेका एजेण्डाबाट प्रभावित भएको देशभरका हजारौं नागरिकले उनको परिवारलाई सहयोग गरिरहेका छन् । यो घटनाले राज्यको हरेक निकाय र अंगहरुमाथि प्रश्न गरेको छ । प्रेमप्रसादले आत्मदाह गर्नुअघि विभिन्न माग पेस गरेका छन्। उनले पेस गरेका ती माग प्रेमप्रसादका मात्रै होइन तमाम युवाहरूको हो ।