Breaking

मन्त्री तोसिमाको आईसीयूमै स्टन्ट, मन्त्री सुदनको हुकुमी शैली, रमिते बने मन्त्री


काठमाडौँ — सस्तो लोकप्रियताको नाममा मन्त्रीहरु गैरजिम्मेवार बन्दै गएको पछिल्लो घटनाहरुले देखाइरहेको छ । नागरिकको सामान्य भावना पनि नबुझी संवेदनशील ठाउँहरुमा स्टन्टबाजी प्रस्तुत गरिरहेका छन् । नेपालमा सबैभन्दा बढी र धेरै केही चल्छ भने त्यो हो स्टन्टबाजी । सामान्यत चलचित्रलाई रोचक बनाउन गरिने स्टन्टबाजीमा अहिले भने नेपालका मन्त्रीहरु पनि जोडतोडका साथ प्रतिष्पर्धी झै गरेर लागेको देखिन्छ ।

सडकको पेटीबाट सुरु भएको मन्त्रीहरुका स्टन्ट सदनको रोष्टमसम्म चलिनै रहेको छ । यतिसम्म त नागरिकले सहेकै थिए । तर, अस्पतालको शैयामा जीवनको अन्तिम सास फेरिरहँदासम्म पनि मन्त्रीले स्टन्टबाजी गर्न छोडेनन् । स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की बिरामीलाई भेट्न जानु स्वभाविक नै भए पनि आईसीयूभित्र नै क्यामेरा तेर्साउनु र आत्मदाह गरेका बिरामीको शैयाबाटै भिडियो सार्वजनिक गर्नाले स्टनबाजीको पराकाष्ठ नागेको छ ।

देशमा अहिले मन्त्री भएकाहरुले गरेका केही क्रियाकलपले उनीहरु मिडियाको हेडलाइनमात्रै बन्न खोजेको देखाएको छ । सरकारमा भएका उनीहरु कारवाही गर्ने हैसियतमा नै छन् तर, काम गरेर देखाउनुको साटो मुखमात्रै बझाइरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका सुदन किराती नेपाल वायु सेवा निगममा हुने गैरकानुनी कामबाट जानकार छन् । आफूलाई सबै जानकारी भएको बताएका मन्त्री किराती कारवाही गर्नुको सट्टा खाए पनि घिच्न चै नहुने बेतर्क गरिरहेका छन् ।

राज्यको नीति निर्माणको थलो संसद् र सरकार दुवै ठाउँमा पुगेकाहरु नै समस्याको चर्का भाषण मै सीमित हुने भए समाधान खोज्ने कसले प्रश्न उठ्न स्वभाविक छ । राप्रपाबाट उपप्रधानमन्त्री बनेका राजेन्द्र लिङ्देनलाई विधेयक ल्याउन केले रोकेको छ र उनका सांसद् ज्ञानेन्द्र शाही रोइकराई गरेका छन् । अर्का भौतिक विकास तथा पूर्वधार मन्त्री नारायणकाजी श्रेष्ठ १५ दिनमा नै काठमाडौँ उपत्यकाका सबै खाल्डाखुल्डी पुरिसक्ने बताएका थिए तर उनले बोलेको मितिदेखि २० दिन कटिसक्दा पनि सडक डिभिजनकै मातहतमा रहेका सडकका खाल्डाखुल्डीको अवस्था सुध्रिन सकेको छैन ।

गृहमन्त्री रवि लामिछानेले विमानस्थलभित्र बसमासिट खाली हुँदा पनि २÷३ मिनेट उभिएर यात्रा गरेको भिडियोले वाहवाही पाएको थियो । सस्तो लोकप्रियता कमाउन युट्युवकै शैलीमा सदनमा प्रस्तुत हुने र स्टन्टबाजीमै केन्द्रीत हुने हो भने यसले अराजकता निम्याउने छ ।

जति बोल्दा र सुन्दा मन्त्री पद हलुका लाग्छ, त्यसको आचरण र निर्वाह गर्नु पर्ने दायित्व त्यति नै भारी वा गरुङ्गो पनि छ । मन्त्री पद भनेको विधिविधानबाट चल्नु पर्ने हो, नकि ओठे जवाफ र स्टन्टबाजीबाट । मन्त्रीका यस्ता तहको हरकतले नागरिकले अपेक्षा गर्ने के ? ठूलो संघर्षले निर्माण गरेको हाम्रो संविधानले परिकल्पना गरेका यस्ता मन्त्री बिल्कुलै होइन । राम्रो नीति बनाउने र त्यसलाई कार्यान्वयन मात्र गर्ने हो भनेयसरी फगत सस्तो लोकप्रियताको नाटक गरिरहनै पर्दैन ।