समाचार

रविको योग्यतासम्बन्धी रिटको पेसी एक नम्बरमा


काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । उनको नागरिकताको विषय उठान गरी सांसद हुन अयोग्य रहेको भन्दै दायर रिटको पेसी आज एक नम्बरमा छ ।

लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः खारेज भएको र पुनः नेपालको नागरिकता प्राप्त गर्न नागरिकतासम्बन्धी ऐन, २०६३ बमोजिमको प्रक्रिया पूरा नगरेको रिट निवेदकको जिकिर छ । पुनः प्राप्तिको प्रक्रिया नै पूरा नगरेका लामिछाने नेपाली नागरिक नरहेको र सांसद बन्न अयोग्य रहेको तर्क गरिएको छ ।

लामिछानेतर्फका कानुन व्यवसायीले भने लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम नरहेको तर खारेज नभएको तर्क गर्दै आएका छन् । उनका कानुन व्यवसायीले नागरिकता ‘कायम नरहेको’ र ‘त्याग गरेको’ विषय छुट्टाछुट्टै रहेको जिकिर गरेका छन् ।

त्यसरी लामिछानको नेपाली नागरिकता कायम नरहेको अवस्थामा अमेरिकाको नागरिकता त्याग गर्नासाथ नेपाली नागरिकता आफैँ सक्रिय हुने उनीहरूको तर्क छ । लामिछानेको नेपाली राहदानी समेतमा निवेदकतर्फबाट प्रश्न उठाइएको छ । अमेरिकाको नागरिकता त्याग नगर्दै नेपाली राहदानी प्राप्त गरेको उनीमाथि आरोप छ ।