Breaking

अमेरिकामा गोली प्रहारका घटना दैनिक बढ्न थालेपछि नागरिक आतंकित, तीन दिनमा १७ जनाको हत्या


काठमाडौँ — दैनिक गोली काण्ड मच्चिन थालेपछि अमेरिकाको जनजीवन थप आतंकित बन्न थालेको छ । पछिल्लो तीन दिनमा मात्र यहाँ अन्दाधुन्द गोली प्रहारबाट १७ जनाले ज्यान गुमाइसकेका छन् । यससँगै अमेरिकामा हातहतियार नियन्त्रण गर्ने कानुन ल्याउनुपर्ने माग टड्कारो रुपमा उठ्न थालेको छ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमवार भएको दुईवटा गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ । सोही राज्यमा दुई दिनअघि एउटा नाचघरमा भएको घटनामा १० जनाको मृत्यु भएको थियो । सोमवारका आक्रमणहरू समुद्री तटमा अवस्थित हाफ मुन बे सहरका दुई भिन्न स्थानमा भएको थियो ।

उक्त सहर सान फ्रान्सिस्कोबाट ५० किलोमिटर दक्षिणमा पर्छ । आक्रमणकारी सोही सहरमा बस्ने ६७ वर्षे पुरुष भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उनको नाम झाओ चुन्ली हो । चिनियाँ नव वर्षको बेला मन्टरे पार्क सहरमा भएको भयानक आक्रमणको दुई दिनपछि फेरि उस्तै प्रकृतिको घटना भएको छ । मन्टरे पार्क सहरमा एशियाली मूलका मानिसको बाहुल्य छ । सोमवारको घटनामा सन्दिग्ध आक्रमणकारी दुई घण्टापछि आफैँ प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न गएको दृश्य सञ्चारमाध्यमहरूले खिचेका छन । उनले आक्रमण गरेर हत्या गरेका चार व्यक्तिको शव च्याउखेती गर्ने फारममा स्थानीय समय अनुसार दिउँसो २ः२२ बजे फेला परेको थियो । पछि थप तीन जनाको शव एकै स्थानमा फेला परे ।

अनुसन्धान कर्ताहरूले आक्रमणको कारण खुलाइसकेको छैन । आक्रमणकारी दिउँसो ४ः४० बजे स्थानीय प्रहरी कार्यालयमा गाडी चलाएर आएको थियो र उनलाई त्यहीँ पक्राउ परे । प्रहरीले उनको साथबाट आक्रमणमा प्रयोग भएको एउटा पेस्तोल फेला पारेका थिए । गोली लागेका आठौँ व्यक्तिको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । अघिल्लो दिन मात्रै क्यालिफोर्नियामा एक बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गर्दा १० जनाको ज्यान गएको थियो । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा गोली चल्दा १० सर्वसाधरणको मृत्यु भएको थियो ।

नववर्षको अवसरमा आयोजित एक मेलाको अवसरमा व्यापारिक परिसरमा हजारौँ मानिसहरू भेला भएका थिए । सन २०२२ सुरु भएयता मात्र अमेरिकामा ३०९ भन्दा धेरै गोली प्रहारका घटना भइसकेका छन् । सन् २०२० मा अमेरिकामा ६१० वटा आक्रमणका घटना भएका थिए । २०१९ मा यो संख्या ४१७ थियो । अमेरिकामा सन् १९९९ देखि २०१९ सम्मको अवधिमा वार्षिक गोली आक्रमणका घटना स्थिरजस्तै देखिन्छ । तर, त्यसयता भने यो संख्यामा उल्लेख्य वृद्धि भएको छ ।