Breaking

खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित


काठमाडौँ — माघ ५ गते स्याङ्जाको वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट रनेश डंगोललाई कारबाही गरिएको प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । अहिलेलाई पाइलटलाई ग्राउन्डेड गरिएको हो । कति समयलाई भन्ने अहिले तोकिएको छैन । अर्को व्यवस्था नभइञ्जेललाई हो, निरौलाले भने, अब पाइलटलाई सोधपुछ र छानबिन गरेपछि के गर्ने भन्नेबारे अर्को सूचना जारी गर्छौं ।

उनले अहिले पाइलट डंगोल घाइते भएपछि आराम गरिरहेको हुँदा ठिक भएपछि अनुसन्धानको काम सुरू गर्ने जनाए । डंगोल उक्त घटनामा स्थानीयको कुटाइबाट घाइते भएका थिए र आजैमात्र पाइलट डंगोलमाथि कुटपिटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ५ गते दिउँसो साढे २ बजेतिर प्रभुको हेलिकप्टरमा पाइलट डंगोल तीन जना यात्रु लिएर पोखराबाट वालिङका लागि उडेका थिए । सोही क्रममा हेलिकप्टर वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा अवतरण गरेको थियो ।