Breaking

भागी विवाह परिवारले अस्वीकार गर्दा एउटै रुखमा झुन्डिएर आत्महत्या


काठमाडौँ — झापाको कचनकवल गाउँपालिका–४, केचनास्थित चिया बगानमा रहेको सिरिसको रुखमा झुन्डिएर आत्महत्या गरेका युवक–युवतीले भागी विवाह गरी तीन महिना केटाको घरमा बसेको खुलेको छ । करिब एक वर्षको प्रेम सम्बन्धपछि भागेका उनीहरूको भागी विवाह परिवारले अस्वीकार गर्दा आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं डीएसपी वसन्त पाठकले प्रेम सम्बन्ध असफल भएपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए ।

एभरेस्ट चिया बगानको रुखमा पासो लगाएर झुन्डिएको अवस्थामा प्रहरीले मंगलबार बिहान २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको शव फेला पारेको थियो । “प्रेम सम्बन्ध असफल भएपछि यस्तो भएको भन्ने बुझिन आएको छ । दुवैजनाले भागी विवाह गरेको र पछि छुटेको भन्ने छ,” डीएसपी पाठकले बताए भने । मृतक युवकका मामा रघुनन्दन गणेशका अनुसार डेढ वर्षअघि उनीहरूले भागी विवाह गरेका थिए । “डेढ वर्षअघिदेखि नै उनीहरूको प्रेम सम्बन्ध थियो । त्यसपछि उनीहरूको भागी विवाह भएको हो । तीन महिना केटाको घरमा मिलेर बसेका थिए,” उनले भने ।

उनका अनुसार सोही समयमा पवित्राका बुवाले आफ्नी छोरीलाई ललाइफकाइ लगेको भन्दै मुद्दा हालेका थिए । गणेश भन्छन्, त्यस बेला केटीका बुवाले ललाइफकाइ लगेको भन्दै मुद्दा हाले । अनि, जिल्ला अदालत झापाले दुवै पक्षलाई बोलाएर जेल हाल्यो । केटा राजेशकुमार जेल परेपछि पवित्रालाई माइती पक्षले लिएर गएका थिए । केही महिना जेल बसेपछि राजेशकुमार छुटेको गणेशले बताए । “केटा छुट्दा केटी माइतीघरमै बसेकी थिइन् । दुवैजनाबीच अझै पनि कुराकानी भइरहेको छ भन्ने सुनिन्थ्यो । यस्तो घटना होला भन्ने कसैलाई थाहा थिएन । तर, आज एक्कासि यस्तो भयो । यसअघिका पारिवारिक घटनाक्रमहरूकै कारण दुवैजनाले आत्महत्या गरेको हुनसक्छ, प्रहरीले बताए ।