Breaking

समयमै पाठ्यपुस्तक पाउनेव्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन


काठमाडौँ — नयाँ शैक्षिक शत्रको सिजन नजिकिएसँगै पाठ्यपुस्तक समयमै उपलब्ध हुनेमा विद्यार्थी , शिक्षक र अभिभावक ढुक्क हुन सकिरहेका छैनन् । विगतको नियतिलाई मध्यनजर गर्दै संसदीय समितिले भने आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयहरुले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । सम्बन्धित मन्त्रालय र मातहतका निकायहरुसँग गहन छलफल गरी समयमा विद्यालयहरुले पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिनु भयो ।

बैठकमा विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आगामी शैक्षिक सत्रबाट समयमै पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग माग गरे । उनले गत वर्ष कक्षा १० को श्वास्थ्य, जनसंख्या र वातावरण तथा कक्षा ८ को नैतिक शिक्षा असोजसम्म पनि नपाएको उल्लेख गर्दै अव त्यस्तो नहोस भन्ने कुरामा सम्बन्धित निकायलाई ध्यान दिनुपर्ने बताए । प्राधानाध्यापक कँडेलले कागजको अभाव देखाएर आगामी शैक्षिक सत्रमा पनि पाठ्यपुस्तकको समयमै उपलब्धता गराउन नसक्ने अवस्थाको तत्काल अन्त्य हुने गरी कागज खरिदका लागि जिटुजी विधि अपनाउँदा उपयुक्त हुने सुझाव समेत दिए ।

यता, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक विद्यालयहरुलाई उपलब्ध गराउने गरी आफूहरुले काम गरिरहेको बताए । उनले त्यसका लागि कागजको समेत अभाव नहुने गरी व्यवस्थापन भईरहेको समितिलाई जानकारी दिए । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाईका लागि थप मेसिनहरुको पनि व्यवस्था गरिएको जनाएको छ । समितिको तदारुकतासँगै सरकारले अहिलेदेखि नै तयारी तीव्र पारेमा पाठ्यपुस्तकको अभाव टर्ने थियो कि ।