Breaking

राष्ट्रपतिलाई लिएर दलहरुबीच दुरी बढ्दै, माओवादीको समर्थन कांग्रेस कि एमालेलाई ?


काठमाडौँ — तत्कालीन सत्तारुढ गठबन्धन भत्काएर नयाँ सत्ता समिकरण बनाउन एमाले सफल भएको छ । नयाँ गठबन्धनबाट केन्द्र र प्रदेशका सरकारसँगै सभामुख र उपमुख पनि चयन भइसकेका छन् । पछिल्लो अवस्थालाई एमालेले राजनीतिक जितको रुपमा अथ्र्याउदै गर्दा कांग्रेसले भने संविधान र व्यवस्थामाथिको खतराको रुपमा औल्याएको छ ।

निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि मिलिजुली सरकार बनाउनु सामान्य प्रक्रिया हो । संविधानले नै गठबन्धन संस्कृतिमा जोड दिएर मिश्रित निर्वाचन प्रणाली अपनाएकाले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुको विकल्प छैन । तर, निर्वाचनमा गएको गठबन्धन भत्किएर नयाँ सत्ता समिकरण बनेपछि नेपाली राजनीति फरक कोर्षमा अगाडि बढेको छ । पछिल्लो अवस्थालाई एमालेले राजनीतिक जितको रुपमा अथ्र्याएको छ ।

अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिल्दा झण्डै दुई तिहाई बहुमत नेकपाको थियो । तर, त्यो बहुमतको सदुपयोग नेताहरुले गर्न सकेनन् । तत्कालीन नेकपाको विवादका कारण तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघठन गरेपछि नेकपा मात्रै होइन, एमालेसमेत विभाजित हुन पुग्यो । जसको कारण कांग्रेसको हातमा सत्ताको चाबी पुगेको थियो । ओलीले संसद भंग गरेपछि निर्माण भएको पाँचदलीय गठबन्धन निर्वाचन पछिसम्म पनि कायम थियो । तर, कांग्रेस र माओवादी केन्द्रको सत्तामोहका कारण गठबन्धन टिक्न सकेन ।

एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । कोर्ष करेक्सन भन्दै कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ । कांग्रेस यो गठबन्धन जसरी पनि भत्काउन चाहन्छ । नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनलाई स्वार्थको समीकरण भनेका छन् । एमालेका अध्यक्ष ओलीका कारण संविधान, गणतन्त्र र संघीयता धरापमा परेको तर्क कांग्रेस नेताहरुको छ । त्यसैले नयाँ समिकरण बन्ने दाबी उनीहरुको छ ।

संविधान र व्यवस्थाको जगेर्नाका लागि नयाँ समिकरण आवश्यक रहेको कांग्रेसको दाबी छ । आगामी राष्ट्रपतिको निर्वाचनसम्म नेपाली राजनीति नयाँ कोर्षमा प्रवेश गर्ने कांग्रेस नेताहरु जिकिर गर्छन । राजनीतिक वृतमा सत्ताका कारण मिलेका एमाले र माओवादी सत्ताकै कारण विभाजित हुने विश्लेषण भइरहेको छ ।

भावी षडयन्त्रको लेखाजोखा पनि दलहरुले गरिरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । तर, राजनीतिक कोर्ष कता लैजाने भन्ने प्रचण्ड र ओलीकै हातमा छ । केन्द्रदेखि प्रदेशसम्मको सत्ता, विभिन्न नियुक्तिका कारण पनि ओली गठबन्धन भत्किन नदिन जोडतोडले लागेका छन् । कांग्रेसको विश्वासको मतले प्रचण्डको बार्गेनिङ पावर पनि ह्वात्तै पढाएको छ ।