Breaking

अमेरिकाको क्यालिफोर्नियामा बन्दुकधारीले गोली प्रहार गर्दा १० जनाको ज्यान गयो


काठमाडौँ — अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारी अन्धाधुन्द गोली प्रहर गर्दा १० जनाको ज्यान गएको छ । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा गोली चल्दा १० सर्वसाधरणको मृत्यु भएको हो । अमेरिकाको क्यालिफोर्निया मोन्टेरी पार्कको एक व्यापारिक परिसरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । लस एन्जलस काउन्टी सेरिफ विभागले गोलाबारीका संदिग्ध पुरुष रहेको जानकारी दिएको छ । नववर्षको अवसरमा आयोजित एक मेलाको अवसरमा व्यापारिक परिसरमा हजारौँ मानिसहरू भेला भएका थिए ।

सामाजिक सञ्जालमा देखा परेका भिडिओहरूमा लस एन्जलसबाट १३ किलोमिटर पूर्वमा पर्ने उक्त सहरमा ठूलो सङ्ख्यामा प्रहरी उपस्थित भएको देखिन्छ । महोत्सव राति ९ बजे सकिने गरी तय भएको थियो । विशेष तालिमप्राप्त अधिकारीहरूले भ्यानको झ्याल फुटाएर हेर्दा उनी आफैँले गोली हानेर मृत अवस्थामा भेटिएका थिए । प्रहरीले ती व्यक्ति ७२ वर्षका एसियाली मूलका पुरुष रहेको र उनको साथबाट सेमी अटोमेटिक पेस्तोल बरामद भएको बताएको छ । मन्टरे पार्कको जनसङ्ख्या झन्डै ६० हजार छ । उक्त सहरमा धेरैजसो एशियाली समुदायका मानिसहरू बस्छन ।

त्यहाँ वार्षिक रूपमा नव वर्षको बेला एक सातासम्म कार्यक्रमहरू हुने गर्छन् । यसअघिका वर्षमा एक लाखभन्दा धेरै मानिसहरू आउने गरेका थिए । अमेरिकामा पछिल्लो समय बढ्दो क्रममा रहेको गोली आक्रमणको यो पछिल्लो उदाहरण हो । समग्र विश्वमा शान्तिको पाठ सिकाउने र शान्ति स्थापनाका लागि भन्दै धेरै मुलुकमा आफ्नो सेनासमेत परिचालन गरेको अमेरिकामै पछिल्लो समय हिंसा र अशान्ति बढ्दो क्रममा देखिएको छ । सन २०२२ सुरु भएयता मात्र अमेरिकामा ३०९ भन्दा धेरै गोली प्रहारका घटना भइसकेका छन् ।

अमेरिकाको विभिन्न राज्यमा गरी जुलाई महिनाको ४ दिनमा मात्र गोली आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । तथ्यांकलाई आधार मान्ने हो भने सन २०२१ मा पनि अमेरिकामा ६९२ वटा गोली प्रहारका घटना भएका थिए । सन् २०२० मा अमेरिकामा ६१० वटा आक्रमणका घटना भएका थिए । २०१९ मा यो संख्या ४१७ थियो । अमेरिकामा सन् १९९९ देखि २०१९ सम्मको अवधिमा वार्षिक गोली आक्रमणका घटना स्थिरजस्तै देखिन्छ ।

तर, त्यसयता भने यो संख्यामा उल्लेख्य वृद्धि भएको छ । अमेरिकामा कानुनीरुपमा नै बन्दुक राख्न पाइने नियम भएकाले पनि गोली प्रहारका घटना बढेको विश्लेषकहरुको तर्क छ । विशेषगरी भर्खरका युवाले बन्दुक राख्न पाउनुले पनि यस्ता घटना हुने गरेको अनुसन्धानहरुले देखाएको छ । अमेरिकामा सन २०२२ मा गोली लागेर ४४ हजारभन्दा बढीको मृत्यु भएको थियो ।