Breaking

पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ


काठमनडौँ — पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेको छ । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ । पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले जनकपुर रोयल्सबाट नेपाल टी–२० लिग खेलेका थिए । उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीका अधिकृतहरुका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए । उनी टिममा भने आवद्ध थिएनन् । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । त्यसमा ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भए पनि अनुसन्धान सुरु भएपछि त्यो सम्भव नभएको सीआईबीका निर्देशक उत्तम सुवेदीले बताए । उनले भने, ‘सट्टेबाजी (बेटिङ) बाट असूली गर्ने उद्देश्यले यो प्रयास भएको थियो, तर हल्लाखल्ला भएपछि स्पट फिक्सिङ मात्रै सम्भव भयो । पहिला नै निर्धारण गरिएका गतिविधिका बलमा खेलको नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्नु ‘स्पष्ट फिक्सिङ’ हो । खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खुलासा गरेका थिए ।

त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराइएको उनले बताएका थिए । पछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए । लगत्तै सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो । खेलमा सबै टिमबाट गरेर ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए ।