Breaking

घेराबन्दीमा रवि, ज्ञानेन्द्र, बालेनलाई रोक्दै छन् सुमन सायामी ? चर्चितहरु सकिने चिन्ता


काठमाडौँ — मुख्य राजनीतिक दलहरुबाट परिवर्त सम्भव छैन, जनताको उत्थान हुन सक्दैन भन्नेहरु नै अहिले सरकार वा राज्य सञ्चानको जिम्मेबार तहमा पुगेका छन् । राजनीतिमा आशा र जनताको विश्वास बोकेर पदमा पुगेकाहरु नै अहिले प्रत्येक दिनजसो विवादमा मुछिन थालेका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको मेयर बनेका बालेन्द्र शाह बालेनले पद सम्हालेदेखि नै ‘प्रशंसा र आलोचना’ दुवै खेप्दै आएका छन्।

सुरुवाती चरणमा देशैभरबाट वाहवाही पाएका उनले अहिले भने विवादै विवादको सामना गर्नु परेको छ । सामाजिक सञ्जालमा आएका प्रश्नको ओठे जवाफ फर्काउने कारणले पनि उनी विवादको पर्याय जस्तै बनेका छन् । पहिले पहिले बालेनको बयान गरेर नथाक्नेहरु नै अहिले उनी माथि प्रश्न तेसाईरहेका छन् । उनको विजयमा सँगै अवीर यात्रा गरेर हिडेका उनैका सहयात्री पनि अहिले उनको आलोचक बनेका छन् ।

त्यस्तै राजनीतिभन्दा बाहिर हुँदा सबैभन्दा बढी आगो ओकल्ने गृहमन्त्री रवि लामिछाने पनि प्रायजसो विवादमा नै मुछिरहने पात्र हुन् । जनताले ठूलो आश गरेको उनी विवादबाट अछुतो हुन सकेका छैनन् । विवादको शिखरमा बसेका उनी नागरिकता विवाद देखि सशस्त्र प्रहरी हत्या अभियुक्त फारर लक्ष्मी महतो कोइरी प्रकरण हुँदै अहिले उपप्रधानमन्त्रीको विवादमा पनि तानिएका छन् । यति धेरै उपप्रधानमन्त्री किन चाहियो, म्यारिज खेल्न? लुडो खेल्न ? भनेर प्रश्न गर्ने उनी अहिले यिनै प्रश्नको घेराबन्दीमा छन् ।

चुनावअघिसम्म अधिकांशले आश गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि विवादले पछ्याइरहेको छ । पशुपति शमशेर राणासँग पैसा लिएको, भ्रष्टाचार गर्नु आमाको रगत खाए सहर हुने भन्ने तर अर्बौ घोटलाको मुद्धा लागेको ठेकेदार विक्रम पाण्डेलाई नै शहिर विकास मन्त्रालयको जिम्मा दिने जस्ता विरोधाभाष कार्यले उनी विवादित छन् । त्यस्तै मद्येशी शहिदलाई सम्मान नदिएको भनेर पनि उनको आलोचना भइरहेको छ ।

सदनको पहिलो बैठकमा नै एमसीसी खारेजीको प्रस्ताव लिएर जान्छु भनेर गर्जिएका राप्रपा सचेतक ज्ञानेन्द्र शाही पनि सदनबाहिर आएर बोल्नु पर्ने अवस्था आएको छ । उनी सदनभित्र उठाउनु पर्ने मुद्धा बाहिर उठाइरहेका छन् । आश गरिएकाहरु पार्टी र व्यक्तिबाट पनि पुरानै संस्कृति झल्किरहेको छ । अझ राजनीतिक विश्लेषकहरु त पहिले पुराना पार्टीलाई सत्तो शराप गर्नेहरु ती भन्दाबढी गए गुझ्रेको बताइरहेका छन् ।

संसदीय राजनीतिमा के र कस्तो हुन्छ भन्ने थाहा नभई, प्रकृया नै नबुझी आवेगमा आई आगो ओकलेकाहरु अहिले सदनभित्रको गञ्जागोलको बन्धनमा अल्झिएका छन् । त्यही बन्धनको गिजलोमा गुझुल्टिएका उनीहरुलाई बन्धन तोड्न मुश्किल बनेको छ । जनताको आशा र विश्वास बोकेर पदमा पुगेकाहरु नै यसरी प्रत्येक दिन प्रचण्ड र ओली भन्दा बढी विवादित बन्दै जाँदा जनताको आश र अपेक्षा भने निराशमा बद्लिने डर पैदा भएको छ ।