Breaking

टुँडिखेलमा यस्तो देखियो सोनाम ल्होसार, प्रचण्डसहित तामाङ समुदायले यसरी मनाए


काठमाडौँ — आज सोनाम ल्होसार, अर्थात तामाङ समुदायको नयाँ वर्ष । बाग वर्ग पुरा गरि मुसा वर्गलाई स्वागत गर्दै तामाङ समुदायले ल्होसार मनाएका छन् । काठमाडौको टुँढिखेल दगायत देश विदेशमा यो पर्व धुमधामका साथ मनाइएको छ । सोनाम ल्होसारमा तामाङ समुदायमा हर्षाल्लास छाउने गर्दछन् । आजको दिनमा उक्त समुदायले ठूलो उत्सवको रूपमा मनाउने प्रचलन छ । ल्होसारको अवसरमा भूमिपूजा, कूलपूजा, गोठपूजा एवं अन्य पूजापाठ तथा दानदक्षिणा, टिकाटालो र परस्पर सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै तहअनुसार आर्शीवाद लिने–दिने अनि शुभकामना आदान–प्रदान समेत गर्ने गरिन्छ ।

त्यस अवसरमा विभिन्न खानाका परिकार बनाउने, नाचगान गरी रमाइलो गर्ने परम्परा पनि रहेको छ । ल्होसार मनाउने समुदायले ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन । जस्तै मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुंगुुर गरी १२ वटा वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीका नामबाट गणना गरिएकाले यसलाई प्रकृतिपूजाका रूपमा समेत लिने गरिन्छ । ‘ल्होसार’ दुई शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात वर्ष वा साल भन्ने हुन्छ भने ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ ।

नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरूङ, मगर, थकालीलगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन । जाति नै पिच्छे फरक–फरक समयमा ल्होसार मनाउने चलन छ । जाति नै पिच्छेका फरक–फरक संस्कृति र प्रचलनले ल्होसार पर्वको महत्व झन बढाएको छ । ल्होसार पर्वको सम्बन्ध मूलतः पुरानो साललाई बिदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ । सोनाम ल्होसार आउन करिब एक महिना अगाडिदेखि नै तयारीका कार्यहरू प्रारम्भ गर्ने गरिन्छ ।

बाटाघाटा, घर–आँगन, चौतारा, मन्दिर, गुम्बा, चैत्य, विहार आदिको सरसफाइ तथा बत्ती, ध्वजा–पताका, खानपान एवं साँस्कृतिक कार्यक्रम आदिको व्यवस्थापनमा ध्यान दिइन्छ । पछिल्लो समय महोत्सवको आयोजना गरेर तामाङ जातिको खाना, भेषभुषा, संस्कृतिलगायत प्रदर्शन गर्ने प्रचलन समेत छ । यो वर्ष पनि टँुढिखेलमा तामाङ समुदायले ल्होसार मनाएको छ । टुँढिखेलमा ल्होसार मनाउदै गर्दा सरकारबाट १ दिनको बिदा दिएको र यस्लाई अझै ३ देखि ७ दिन सम्म बिदा नदिएकोमा दुःख व्यतm गरे ।

तामाङ समुदायको पर्व ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा सामन्ती ,एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको र अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवद्र्धन हुन नदिने कुचेष्टा भइरहेको बताए । अहिले पनि सामन्ती, एकात्मक र हस्तक्षेपबिरुद्धको लडाईं जारी रहेको पनि बताए । प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व सबैको काँधमा रहेको समेत बताए ।

वास्तवमा नेपाल विविधताले भरिपूर्ण राष्ट्र हो । शताब्दियांै देखि विश्वका विविध उद्देश्यका नागरिकलाई नेपालले सधैं आकर्षित गरिरहेको छ । विभिन्न जातजातिका कला संस्कृति, भेषभुषा, भाषा, खानपान बाह्य पर्यटकका लागि आकर्षणका केन्द्र बन्दै आएको छ । यसबाट नेपालको संस्कृतिको परिचय र भाइचारा सम्बन्ध समेत बढिरहेको छ । वास्तवमा नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रूपमा रहेका मौलिक संस्कृतिहरूको संरक्षण तथा सम्बद्र्धन गर्न राज्यले विशेष पहल गर्नु पर्ने देखिन्छ ।