Breaking

रविलाई संसद छिर्नै लाजमर्दो, सांसदले खाए सात्तो, गृहमन्त्रीकै अघि कोइरी फरार, प्रहरीले किन टेरेन ?


काठमाडौँ — गृहमन्त्रालय एक संवेदनशिल र शक्तिशाली मन्त्रालय हो । राज्य संचालनको झण्डै आधा अभिभारा यसै मन्त्रालय अन्र्तगत पर्दछ । तर लामो समयदेखि गृहमन्त्रालय सक्षम नेतृत्वको अभावले पिल्सिएर सुशासन र राज्य संचालनमा असफल जस्तै बन्न थालेको छ । अहिले मन्त्रालयको नेतृत्वमा आएका रवि लामिछानेबाट पनि आश गर्ने ठाउँ छैन भन्ने संकेत हत्या आरोपी सांसद लक्ष्मी कोइरीका बारे गृहमन्त्रीले गरेको आलटाल र अपरिपक्क निर्णयले गरेको छ । प्रहरी संगठनभित्र अहिले व्यापक हलचल र चर्चा छ ।

बरु पूर्वगृहमन्त्री बामदेव गौतमको चल्ला तर बहालवाला गृहमन्त्री रवि लामिछानेको चल्दैन भनेर गाइँगुइँ सुन्न थालिएको छ । झन हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई बचाउन गृहमन्त्रीलाई प्रहरी संगठनबाटै अटेर गरेको घटना बाहिरिएपछि अब चल्दैन भन्ने लगभग पक्का जस्तै भएको छ । तर प्रहरी संगठनले मान्नुपर्ने रविलाई होइन, गृहमन्त्रीलाई हो । यसैकारण पटकपटक गृहमन्त्रीको निर्देशनलाई वेवास्ता गर्दै लज्जित बनाउनुभन्दा खुरुक्क पक्राउ गरि उच्च अदालत समक्ष बुझाउनुमा प्रहरीको भलाई हुनेछ । किनकि संसदमा आवाज उठ्न थाल्यो । गृहमन्त्रीमाथि हिलो छ्यापिनु भनेको प्रहरी संगठनकै बद्नाम हो ।

एमाले नेतृत्वको प्रचण्ड सरकारका गृहमन्त्री दुई ढुंगाको कापमा च्यापिएको तरुल जस्तो बनेका छन् । सशस्त्र प्रहरीका असई थमन विकलाई घाइते बनाइ एम्बुलेन्सबाटै झिकेर भालाले घोची घोची मारेका कोइरी एमालेकै सांसद भएकाले रविको जोर चलेको छैन । कोइरी प्रहरीको फरार सूचीमा छन्, र पनि उनी संसदमै छन् । मंसिर ४ को निर्वाचनमा महोत्तरी १ बाट निर्वाचित भएका उनी प्रत्येक संसदमा गृहमन्त्रीकै वरिपरी थिए । रविले रोस्टमबाट कुनै अपराधीलाई छोड्दिन्न भन्दा उनी पछाडी बसेर मस्किरहेका हुन्थ्ये । तर आम मिडियामा आएको खबरलाई नटरेका गृहमन्त्रीले संसदमै नेपाली काँग्रेसका सांसदहरुले प्रश्न गरेपछि जवाफ दिन बाध्य बने ।

तर त्यतिबेलासम्म कोइरी आफ्नो बन्दोबस्तीसहित फेरि फरार भएका छन् । तथापी उनी नेपालमै छन्, नेपाल प्रहरीले चाहेको खण्डमा कोइरी मिनेटमै पक्राउ पर्न सक्छन् । तर रविले फेरि पुस ६ मा प्रहरीलाई चिट्टी लेख्दै पक्राउ गर्न निर्देशन दिएपछि उनको परिपक्वतालाई केटाकेटीपनसँग दाँजिएको छ । प्रहरीका पूर्वअधिकारीहरुले रविलाई असक्षम करार गर्न थालेका छन् ।

मिडियामा व्यापक आलोचना र सांसदहरुबाटै प्रश्न उठिसकेपछि निश्चय नै राजनीतिमा बामे सर्दै गरेका नौलो मन्त्री रविले दबाब महसुुस गरे । तर यत्तिकैमा रवि आत्तिदै कार्यलय समय सकाइवरी घर पुगिसकेका प्रवक्तालाई बोलाएर विज्ञप्ती जारी गराउन उर्दी जारी गर्नु पर्ने स्थिति थिएन । त्यत्ति मात्रै होइन विज्ञप्तीमा लेखिएको वेहोराले स्वयम रबीको नैतिकता माथि प्रश्न उठाएको छ । गृहमन्त्रीको आदेश प्रहरीले नटेरेको सन्देश यस विज्ञप्तीमा छ ।

यदी यही सत्य हो भने रबीले कि आफ्नो आदेश पालना नगर्ने प्रहरी प्रमुखलाई कारवाही गर्नु पर्छ कि नैतिकताका आधारमा राजीनामा गर्नु पर्छ । त्यसो पनि नगर्दा आफू यी कारणले परिवन्धमा परेँ भनेर वास्तविकता खुलाउनु नै रबिका लागि भलो हुने देखिन्छ ।

कोइरीलाई हत्या मुद्दामा उच्च अदालत जनकपुरले यसअघि नै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर कोइरी संसदमै उपस्थिति भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिए । मतदानमा भाग लिइसक्दासमेत प्रहरीले पक्राउ नगरेपछि चर्काे विरोध भयो । अदालतको आदेश कार्यान्वयनका लागि सहयोग गर्न भन्दै संसद् सचिवालयले पुस ७ मा प्रहरी प्रधान कार्यालयलाई पत्राचार समेत गरेको थियो ।

तर मौनव्रतमा रहेको प्रहरी प्रशासनका अघि उनी सभामुखको निर्वाचनमा पनि मतदान गर्न गएपछि नेपाली काँग्रेसका रामहरि खतिवडाले प्रश्न उठाएका थिए । लगत्तै मतदान नगरि निस्किएका उनी गृहमन्त्रीकै अघि फरार भएका छन् । अब उनको लुक्ने बन्दोबस्त भइसकेपछि मात्रै गृहमन्त्रीले लिखित पत्र काटेर पक्राउ गर्ने निर्देशन दिएको भन्दै आलोचना भइरहेको छ ।