Breaking

सत्ता गठबन्धनको भागवण्डामा ओलीको रजाइँ, झापालीलाई पदको ओइरो, शुन्य कर्णाली


काठमाडौँ — संविधानत २५ सदस्यीय मन्त्रीमण्डलको व्यवस्था छ । मन्त्रीसहित महत्वपूर्ण पदहरु बाँडफाँडका क्रममा राजनीतिक दलहरुले नै विभेद श्रृजना गराइदिएका छन् । सत्तागठबन्धनको संयोजक समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णालीबाट कुनै मन्त्री समावेश नगर्दा आफ्नो गृहजिल्लाबाट भने पद नै पदको उपहार दिएका छन । शनिवार भएको मतदानबाट उपसभामुख सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित हुँदा गत विहिवार सम्पन्न निर्वाचनमा एमालेका सांसद देवराज घिमिरे सभामुख निर्वाचित भए ।

संसदीय राजनीतिमा गुमनाम रहेका घिमिरे आफ्नो स्वइच्छा र रहरले भन्दा पनि ओलीको चाहानामा एकाएक सभामुख बने । एमालेका नेता हिक्मत कार्की प्रदेश नम्वर एकको मुख्यमन्त्री बने । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानमन्त्री तथा उर्जामन्त्री बने । लिङदेनले पहिलो पटकमै उपप्रधानमन्त्री सहितको मन्त्री पाए, राष्ट्रिय राजनीतिमा गुमनाम रहेका, आम जनतासंग परिचित अनुहार समेत नरहेका घिमिरे सभामुख बने ।

समानुपातिक निर्वाचन प्रणालीबाटै भएपनि पहिलो पटक सदन छिरेकी राना उपसभामुख बनिन् । उनीहरु सबै एमाले अध्यक्ष ओलीका जिल्लावासी हुन् । बढि शक्तिको उपयोग र थोरै संयोग नै मान्नु पर्छ झापा जिल्लाले यसटक राज्यको उपल्लो तहका पदहरुमा भारी स्थान पाएको छ । सत्ता गठवन्धनको संयोजक बनेको फाइदा आफ्नै जिल्लामा ढोल्याउन ओली सफल भएका छन् ।

मुलुककै दुर्गम मानिने विकास र पूर्वाधारमा पछाडि पारिएको कर्णाली प्रदेशबाट २२ जना सांसद भएपनि ठुला पदमा कर्णालीलाई पन्छाएर झापालाई पदहरुको ओइरो लागेको छ । भलै राप्रपा र रास्वपाका कुन नेताहरु सत्तासिन हुने नहुने भन्ने स्वअधिकार स्वयम पार्टीले राख्दछ । तर सत्ताघटक दलहरुको संयोजक बनिसकेपछि अध्यक्ष ओलीले पदासिनहरुको भेग मिलाउन आफूलाई सचत राख्नु पथ्र्याे । तर पार्टी नेतृत्वलाई यस्ता विषयमा सम्झाई बुझाई गर्नुभन्दा दोस्रो तहका युवा नेताहरु समेत ओलीकै गुणगानमा लिप्त छन् ।

संघीय संसद र मन्त्रीपरिषदले सिंगो देशको प्रतिनिधित्व गर्नु पर्दछ । काविल नेतृत्व क्षमताका व्यक्तिहरु पदमा पुग्नु पर्छ त्यसमा दुई मत छैन तर लोकतान्त्रीक पद्धती र समावेशिताको सिद्धान्तलाई मनन गर्दै भेग, समूदाय र जातीलाई समेत ख्यालमा राखेर पदीय भागवण्डा हुन जरुरी छ । जस्ले देशलाई एकतामा बाँध्न सहयोग गर्दछ । तर हालको भागवण्डा र्हो शक्तिशाली नेताहरुको पोल्टामा पदहरुको चाङ लागेको देखिन्छ ।