Breaking

संसदमा नउठ्दैमा मधेशका शहीदको अपमान गर्‍यो भन्न पाइँदैन: मन्त्री लिङ्देन


काठमाडौँ — मधेस आन्दोलनका सहिदप्रति सम्मान गर्दै सदनमा गरिएको मौन धारणमा नउठेकोप्रति उपप्रधान तथा ऊर्जा तथा जलस्रोत मन्त्री राजेन्द्र लिङ्देन बोलेका छन् । गत माघ ५ गते भएको सदनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले रोष्टमबाटै मधेस आन्दोलनका सहिदको सम्मानका एक मिनेट मौन धारण गरेका थिए । एकाएक भाषणकैबीचमा मौनधारण गरेपछि सदनमा अलमल भएको थियो । नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू उठेका थिए। तर प्रधानमन्त्री पुष्‍पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन लगायत सांसदहरू उठेका थिएनन् ।

यस विषयमा बाहिर गलत प्रचार भएको भन्दै शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा लिङ्देनले स्पष्टीकरण दिएका हुन्। उनले सदनमा सभामुखको रूलिङ हुनुपर्ने बताएका हुन् । माघ ५ गते जुन हाम्रो बैठक थियो। त्यहाँ मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने अथवा मधेसका सहिदहरूप्रति सम्मान गर्ने विषय उठेको थियो। यहाँ उठ्ने र नठ्नेको प्रचार बाहिर आइरहेको छ। सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो। उहाँको उपप्रधानमन्त्री म थिएँ। हामी उठेनौं,’ उनले भने, ‘यसको अर्थ बाहिर के गइरहेको छ भने हामीले मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरू प्रति हाम्रो सम्मान छैन भन्ने प्रचार भइरहेको छ।’

यसरी गरिएको प्रचार गलत भएको भन्दै उनले भने, ‘तर संसदको एउटा मर्यादा हुन्छ, एउटा नियम हुन्छ र रूलिङ सभामुखको चल्‍छ। यति कुरा पनि दोस्रो कार्यकाल संसदमा आएको मैले बुझिनँ भने म बहाना वा भावनामा बगेँ भने त्यसले संसदीय परम्परामा राम्रो छाप छाड्दैन। कि त सभामुखले त्यो विषयमा रूलिङ गर्नुपर्‍यो। कम्तीमा कि मेरो प्रधानमन्त्री उठ्नुपर्‍यो। उनले आफूहरूले सहिदहरूप्रति अनादर नगरेको पनि बताए । प्रधानमन्त्री वा आफू कसैले पनि अपमान गर्न नखोजेको उनले बताए।