Breaking

कन्दमूलमा पनि अर्बाै खर्च गर्दै सरकार, बदामको नाममा ५ महिनामै करोडौँ बाहिरियो


काठमाडौँ— बोलीमा राष्ट्रियताको हुंकार गरे पनि सुन देखि नुनसम्म र दात कोट्याउने सिन्को देखि विमानसम्म आयात गर्नुपर्ने बाध्यतमाा देश छ । दिन प्रतिदिन आयातित वस्तुबाट नै दैनिकी गुजारा गरिरहेका देशका नेताहरु भने अझै पनि आत्मनिर्भरताको बखान गर्न छोडेका छैनन् ।

पुस,माघको महिना त्यसमाथि चिसो मौसम । अनि जाडोको प्यारो साथी घाम । घामसँगै बदामको स्वाद र साथीसँगको हासी मजाक । यो जाडो महिनाको अधिकांश नेपालीको दैनिकी जस्तै हो । मानिसहरु फुर्सदमा होस् वा अन्य केही भेटघाटको कार्यक्रम चौर अथवा खुल्ला ठाउँमा बसेर घाम ताप्दै अनि गफ्फिदै बदामको स्वादमा रम्ने र भुल्ने गर्छन् ।

तर, यसरी समय कटाउन खाइने बदाम कहाँबाट आउँछ भन्ने विषयबारे अधिकांश अनविज्ञ नै छन् । नेपालमा भित्रने बदाम छिमेकी मुलुक भारत र अमेरिकाबाट आउँछ । गत आर्थिक वर्ष २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु र मधेशी बदाम आयात गरेको भन्सार विभागले जनाएको छ ।

सो अवधिमा २७ लाख ४८ हजार ९५५ केजी काजु र बदाम नेपाल भित्रिएको हो । विभागका अनुसार सो आर्थिक वर्षमा १ अर्ब १७ करोड २५ लाख ७९ हजार रुपैयाँको १४ लाख ३४ हजार २१० केजी काजु र ८४ करोड १८ लाख २३ हजार रुपैयाँको १३ लाख १४ हजार ७४६ केजी बदाम नेपाल भित्रिएको थियो । त्यस्तै २ करोड ६३ लाखमा ३ लाख ६३ हजार किलो बोक्रा नछोडाएको काचो बदाम आयात भएको तथ्यांकले देखाउँछ ।

यसै आर्थिक वर्षको मंसिरसम्म मात्रै १ करोड ११ लाख खर्चेर ३६ हजार ७५८ किलो आयात गरिएको छ । बदामकै शिर्षकमा वर्षेनी नेपाल ठूलो रकम बाहिर पठाइरहेको छ ।

नेपालमा बदाम फल्दै नफल्ने भने होइन । नेपालको सातै प्रदेशमा बदामको खेती हुन्छ । तर, देशलाई अपुग नै भइरहेको छ । नेपालमा बदाम खेतीका लागि प्रचुर सम्भावना भए पनि यसको व्यावसायिक खेती घट्दै जाँदा देशको ठूलो धन राशी खर्चिरहनु परेको छ । गत वर्षमात्रै ५ हजार ३ सय २८ हेक्टर भूभागमा बदाम खेती हुँदा ७ हजार ३ सय ९२ मेट्रिकटन उत्पादन भएको थियो ।

कन्दमुलकै रुपमा लिइने बदाम पनि विदेशबाटै मगाउनु पर्ने अवस्था आइरहँदा हजारौं युवाहरु भने रोजगारीकै लागि विदेशीन बाध्य छन् । युवा नभएकै कारण गाउँको हेक्टरौ खेती योग्य जमीन बाँझै छ । लगानीको सुनिश्चितता नहुँदा र जनचेतनाको अभावले पनि बदाममा युवाहरुको अकर्षण घट्दै गएको छ भने उब्जनी हुने जमीनको उपयोग हुन सकिरहेको छैन ।

दुई तिहाइ जनसंख्याको टेक्ने आधार कृषि नै भए पनि कृषिजन्य वस्तुको आयात थेग्नै मुश्किल पर्ने गरी विदेशिने रकम बढिरहेको छ । नेपालीले विदेशमा रोजगारी बेचेर कमाएको धनको एक तिहाइ रकम त कृषिजन्य वस्तुको आयातमै सकिन्छ ।

यस्तो स्थितिमा सरकारले लगानी गर्ने वातावरण बनाइदिन आवश्यक छ । बिउ विउजनदेखि मल जस्ता कृषीमा चाहिने सामाग्री उपलब्ध गराइदिने हो भने, बदाममा आत्म निर्भर हुन सकिन्छ ।