Breaking

राष्ट्रपतिमा ओली–देउवा लडाइँ, काँग्रेसका लागि प्रचण्डको मरिहत्ते, राष्ट्रपतिको चर्चामा दर्जन बढी नेता


काठमाडौँ— काँग्रेसकै लाइनमा उभिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझा सहमतिको राष्ट्रपति खोजिरहेका छन् । तर साझा सहमतिको राष्ट्रपति को हो भन्ने खुलेको छैन । यद्यपी आकांक्षीको लस्कर झण्डै दर्जन बराबर छ ।

ओली र बाबुरामलाई छेउछेउमा राखेर बीचमा बसेका माधवकुमार नेपाल बढो तनावमा थिए । कुममा कुम जुँधाएका ओली–बाबुराम गफिरहँदा बीचमा च्यापिएर सकसपूर्ण रुपले हात बाँधेर बसेका माधवलाई मुख फोरी बोल्न पनि भएको थिएन । तर नबोलि सुख पनि भएन । कुर्सी मिलाउनेले गाला नै ठोक्किने गरि मिलाईदिएपछि सभामुखको सपथ ग्रहणमा शीतलनिवास गएका ओली–माधव बोल्न बाध्य बने ।

माधव गफिन थालेपछि ओली आँखा तीखो र कान ठाडो बनाएर सुनिरहेका थिए । किनकि उनीहरुलाई पूर्वप्रधानमन्त्रीको हैसियतले एकैठाउँमा बस्ने व्यवस्था गरिएको थियो । दुई राष्ट्रपतिका आकांक्षी र एक अहिलेका सत्ता किङमेकरको यो दृश्यले साझा सहमतिको राष्ट्रपतिमा कति भूमिका खेल्ला ? किनकि अहिले राष्ट्रपति सबैले पत्याएको र सबैले मान्ने हुनुपर्ने मत जब्बर बनेको छ । बाबुराम र माधव पनि त्यसभित्रका प्रमुख दाबेदार छन् । कथम, ओली सहमतिमा आए यी दुवै राष्ट्रपति बन्ने सम्भावना पनि छ ।

सभामुखमा देखिएको समर्थन राष्ट्रपतिको निर्वाचनसम्म कायम रहे सत्ता गठबन्धनकै उम्मेदवारले जित्ने पक्कापक्की जस्तै छ । तर प्रतिनिधिसभासहित प्रदेश र राष्ट्रियसभाका सदस्य मतदाता हुने भएकाले काँग्रेसले राष्ट्रपतिमा अर्जुनदृष्टि गाँडेको छ । र काँग्रेसलाई सहज हुनेगरि साझा सहमतिसहित राष्ट्रपतिको चयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भरथेक भार उठाइरहेका छन् ।

तर साझा सहमतिको राष्ट्रपति को हो भन्ने खुलेको छैन । चर्चामा माधवकुमार नेपाल, बाबुराम भट्टराई, रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्बाङको नाम छ । काँग्रेसभित्र कृष्णप्रसाद सिटौलाको दौडधुप पनि कम छैन । पछिल्लो समय प्रचण्ड–देउवाबीच निकटता ल्याउन सिटौला युद्धस्तरमा खटिएका छन् । तर देउवालाई भेउ पनि नदिएर ओलीको कित्तामा आएर प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति एमालेले पाउने सहमति गरेका छन् ।

सहमति बमोजिम गए सभामुख जस्तै राष्ट्रपति पनि एमालेकै हुनेछ । एमालेभित्र सुवासचन्द्र नेम्बाङ, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, युवराज ज्ञवाली र डोरमणि पौडेलको नाम चर्चामा छ । त्यसमध्ये ओलीका अझै विश्वासिला पात्र भएकाले नेम्बाङ र पोखरेलको सम्भावना बलियो छ । तर मन्त्री र सभामुख जस्तै ओलीको गोजीबाट फुत्त कसको नाम निस्किन्छ, एमालेकै नेताहरु पनि अनविज्ञ छन् । ओली भने सहमतिसहितको राष्ट्रपति खोजी भइरहेका बेला एमालेकै राष्ट्रपति हुने र त्यसमा काँग्रेससहितका दलहरु सहमत हुनुपर्ने बताइरहेका छन् ।

तर आलोपालाको सहमतिसहित प्रधानमन्त्री बनेका प्रचण्डले सभामुख र राष्ट्रपति एमालेको हुँदा साढे दुईबर्षपछि आफुसँग ४ मन्त्रीबाहेक केही नहुने बुझेका छन् । ओली भने सभामुख, राष्ट्रपतिसहित प्रधानमन्त्री पनि आफै बन्ने गरि फाइदामा छन् । यसले प्रचण्डलाई अहिलेदेखि नै पोल्न थालेको छ । त्यसैले पनि उनी काँग्रेससँग सहकार्यकै रुपमा जान खोजिरहेका छन् । ओलीलाई मनाएर राष्ट्रपति एमालेबाहिरको बनाउन पाएपनि हुने भन्ने लोभ पलाएको छ ।

त्यसो हुँदा एमाले–काँग्रेस दुबैसँग खेलेर प्रचण्ड पाँचैबर्ष प्रधानमन्त्रीमा टिक्न सक्छन् । एमाले राजी नभए काँग्रेससँग बहुमत पु¥याएर खुट्टा उचाल्ने सुविधा पनि प्रचण्डलाई हुनेछ ।

फलतः माओवादी सहमति विपरित नै भएपनि राष्ट्रपतिमा काँग्रेसकै लाइनमा पुगेर साझा सहमति खोजिरहेका छ । तर प्रचण्डको रोजाइ काँग्रेसका नेता भन्दा माधव र बाबुराममध्ये एक हुनसक्छन् । माधवका पक्षमा ओली सहमत भए प्रचण्ड पनि राजी हुने ठाउँ देखिन्छ ।

तर त्यसका लागि माधवका १० सांसद एमालेमै गाँभिनुपर्ने स्वार्थ ओलीमा छ । त्यसो हुँदा एमाले फेरि संसदको ठूलो दल बन्नेछ । तर काँग्रेस राष्ट्रपतिकै निर्वाचनसम्म गठबन्धनमा भाँजो हालेर सत्ता पलटसम्मको सम्भावना खोजिरहेको छ ।