Breaking

प्रचण्डको विश्वासघात कुर्दै काँग्रेस, राष्ट्रपति नपाए ओली प्रधानमन्त्री, फेरि हारेको काँग्रेस कसरी जित्ला ?


काठमाडौँ — संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पनि गुमाएको छ । तर प्रधानमन्त्री प्रचण्डकै समर्थनमा राष्ट्रपति हत्याउने विश्वास भने कम भएको छ । यसले राष्ट्रपति पनि नपाए काँग्रेस के गर्ला भन्ने चासो चिन्ता व्यक्त भइरहेका छन् । देश सभामुखमात्रै पाएन कि ओलीले जे चाहन्छन् त्यही हुन्छ भन्ने पनि आजको दिनले स्थापित ग¥यो । न घिमिरेको सभामुख बन्ने रहर, न आम जनमानसमा घिमिरे सभामुख बन्ने चर्चा थियो । बस्, ओलीले चाहे भयो । अरु आकांक्षीको गनगनलाई पन्छाउँदै ओलीको खल्तीबाट घिमिरेको नाम आयो उनै सभामुख बने ।

प्रष्ट छ, प्रधानमन्त्री प्रचण्ड भएपनि गठबन्धन ओलीको इशारामा चल्छ । रवि–राजेन्द्र साथमै छन् । बालुवाटार भन्दा बालकोट धेरै जान्छन् । पहिला ओली, लिङ्देन र रविको छलफल हुन्छ, अनि प्रचण्डसँग ओली बस्छन् । यो सब चाल पाएका प्रचण्डलाई ओलीको चालामाला निको लागेको छैन । तर प्वाक्क मुख फोरि बोल्न पनि भएको छैन । काँग्रेस पनि प्रचण्डले मुख फोरे हुन्थ्यो भन्ने चाहन्छ । तर प्रचण्ड यतिबेला प्रधानमन्त्री प्रचण्ड छन् । माधवले भनेझैँ धेरै कुरा बोल्न मन लागेपनि बोली बन्द छ ।

काँग्रेसलाई मत दिनुपर्ने पार्टीभित्रको एक कित्तालाई दबाएर प्रचण्डले सभामुखमा एमालेमा भोट हालेका छन् । यहि मर्म बुझेका विश्वप्रकाशले रोस्टमबाटै पिजँडामा थुनिएको दाबी मात्रै गरेनन् कि देउवा पिजँडामुक्त गर्न चाहन्छन् भन्ने सन्देशसमेत दिए ।

प्रचण्डलाई बालकोटको बार्दलीबाट धुम्बाराहीको गार्डेनमा ल्याउने देउवाको चाहना छ । तर सभामुख हारेका देउवाले राष्ट्रपतिमा बद्ला फर्काउन सक्छन् ? किनकि दैनिक जसो गठबन्धन बनाउने कसरतमा जुटेका देउवाले सीके राउत र उपेन्द्र यादवलाई सभामुखमा तान्न सकेनन् । माधवको साथले मात्रै ओलीसँग टक्कर लिन पुगेन । अब यतिमात्रैले राष्ट्रपति हात नपर्ने भएपछि उनी विपक्षी मोर्चा कस्न अघि बढेका छन् । तर सभामुखको निर्वाचनले कित्ता क्लिएर गरेको छ ।

देउवासँग पटकपटक संवादमा रहेपनि जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनका उम्मेदवारलाई नै मत दिए । तर सभामुख काँग्रेसको मुख्य विषय होइन । काँग्रेसको अर्जुनदृष्टि राष्ट्रपति हो । सभामुखमा झस्काएर राष्ट्रपतिमा गोल हान्ने तयारी गरेको काँग्रेसले प्रचण्डसहितको समर्थन जुटाउने विश्वास देखाइरहेको छ । तर एमाले अध्यक्ष ओली राष्ट्रपति पनि एमालेकै हुने भएकाले त्यसमा सहमत हुन काँग्रेसलाई पनि सुझाव दिइरहेका छन् ।

प्रधानमन्त्रीकै लागि प्रचण्ड ओलीसँग मिल्न सक्छन् भन्ने भेउसमेत नपाएका देउवा फेल खाएपनि विश्वासको मत दिएर प्रचण्डलाई बोक्न खोजिरहेका छन् । विश्वासको मत दिनुको अर्थ नै सभामुख र राष्ट्रपतिमा माओवादीको समर्थन पाईहाल्ने आश पलाएर हो । यसका लागि एमालेसँग पौठेजोरी खेल्न देउवा तयार भएका छन् । तर विश्वासको मतमा सत्तापक्ष बनेको काँग्रेस सभामुखसम्म पुग्दा प्रतिपक्ष बनिसकेको छ ।

सभामुखमा देखिएको समर्थन राष्ट्रपतिसम्म कायम रहे सत्ता गठबन्धनकै उम्मेदवारले जित्ने पक्कापक्की जस्तै छ । तर प्रदेश र राष्ट्रियसभासहित प्रतिनिधिसभाका सदस्य मतदाता हुने भएकाले काँग्रेसले राष्ट्रपतिलाई मुख्य बनाएको हो । त्यतिबेलासम्म गठबन्धनमै भाँजो आइसक्ने विश्वास पनि काँग्रेसलाई छ ।

सकभर माओवादीसहितको समर्थन लिएर राष्ट्रपति लिइहाल्ने नीतिमा काँग्रेस अघि बढेको छ । त्यसका लागि सभामुख गुमाए पनि प्रचण्डमाथि विश्वास कम भएको छैन । तर सभामुखमा पनि माओवादीको समर्थन काँग्रेसले नपाए देउवा ६ महिनाभित्रै सरकार ढाल्न लागिपर्नेछ । यसका लागि ओलीलाई प्रधानमन्त्रीको अफर गर्दै प्रचण्डलाई गलहत्याउनसमेत देउवा पछि नपर्ने आकलन अहिलेदेखि नै सुरु भएको छ ।